काठमाडौं, ८ माघ । पछिल्लो समय धेरै कम्पनीले अनुहार पहिचान गर्ने प्रविधि प्रयोगमा ल्याएको छ। फेसबुक त्यसैमध्ये एक हो।पछिल्लो समय धेरै कम्पनीले अनुहार पहिचान गर्ने प्रविधि प्रयोगमा ल्याएको छ। फेसबुक त्यसैमध्ये एक हो।

फेसबुकमा केही दिनयता दस वर्ष पुराना तस्बिर छ्यापछ्याप्ती छन्। यसैको देखासिकी ट्विटर लगायत अन्य सामाजिक सञ्जालमा पनि ’टेन इयर्स च्यालेन्ज’ भन्दै १० वर्ष पुराना तस्बिर हाल्ने होड छ।

हलिउड, बलिउडका सेलेब्रेटीदेखि नेताहरूले समेत फेसबुकको चुनौती स्वीकार्दै आफ्ना पुराना तस्बिर अपलोड गर्न थालेका छन्।

यो अभियान कसले सुरू गर्यो भन्ने यकिन छैन। फेसबुक संस्थापक मार्क जुकरवर्गको पुरानो र नयाँ तस्बिर प्रयोगकर्ताहरूको ’वाल’ मा देखिन थालेपछि यसको लहर फैलिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

अहिले संसारभरमा ५ करोड २० लाखभन्दा बढी प्रयोगकर्ता फेसबुकको चुनौतीमा सहभागी भइसकेका छन्। अधिकांश प्रयोगकर्ता यो खेलमा रमाइरहेका छन्। केहीले भने गम्भीर प्रश्न उठाएका छन्।

उनीहरूको सवाल छ( फेसबुकमा १० वर्ष पुरानो र हालको फोटो राख्नु कति सुरक्षित छ? कतै यो फेसबुकले आफ्नो ’अनुहार पहिचान (फेसियल रिकग्निसन)’ प्रविधिमा मद्दत पुर्याउन ल्याएको त हैन?

वायर्ड पत्रिकाकी पत्रकार केट ओनिलले सबभन्दा पहिले यी प्रश्न उठाउँदै व्यक्तिगत तस्बिरको सुरक्षाबारे चर्चा गरेकी थिइन्। धेरैले उनको प्रश्नमा सहमति जनाउँदै थप प्रश्न उठाइरहेका छन्।

फेसबुक प्रयोगकर्ताका विवरण चोरी हुने, ती विवरण आपराधिक क्रियाकलाप वा कुनै देश तथा संगठनको जासुसी गतिविधिमा प्रयोग हुने घटना नौला होइनन्।

फेसबुकको ’दसवर्षे चुनौती’ मा सहभागी भारतीय अभिनेत्री सोनम कपुर र दिया मिर्जा।
अमेरिकाको राष्ट्रपति चुनावमा फेसबुकमार्फत् भएका हस्तक्षेपबारे मार्क जुकरवर्गले अमेरिकी संसदमा पटक(पटक सफाइ दिनुपरेको छ। फेसबुकमा आउने खेल र ’भविष्यवाणी’ एप्सले पनि प्रयोगकर्ताको विवरण लिइरहेको आरोप बेलाबेखत लागिरहन्छ।

रमाइलोका लागि भनेर सामाजिक सञ्जालमा सुरू हुने यस्ता गतिविधि सम्बन्धित कम्पनीका रोबोटले आफ्ना सुविधानिम्ति प्रयोग गर्ने बताइएको छ।

केट ओनिलले भनेकी छन्, ’कल्पना गर्नुस्, तपाईंले १० वर्षे चुनौतीअनुसार आफ्नो तस्बिर राख्नुभयो। अब यी तस्बिरले कसलाई फाइदा हुन्छ? फेसबुकमा आउने ती खेललाई जसले सोध्छन्, बूढारबूढी भएपछि तपाईं कस्तो देखिनुहुनेछ? वा अबको यति वर्षमा तपाईंको अनुहार कस्तो हुनेछ?’

यस किसिमका कति खेल तपाईंले खेलिसक्नुभयो होला। हो, हामीले राखेका नयाँ(पुराना तस्बिरले यिनै खेलका एप्सलाई सघाउनेछन्।

धेरैले यसरी तस्बिर राख्दा कुनै फरक नपर्ने तर्क गरेका छन्। किनकि, फेसबुकमा हालिएका सबै तस्बिरमा उसका रोबोटहरूको पहुँच हुन्छ। तर ओनिलको तर्क भिन्न छ।

उनी भन्छिन्, ’सबै मान्छेले सधैं आफ्नो जीवनकालको समयक्रमअनुसार फेसबुकमा फोटा राखेका हुँदैनन्। कसैले कार्टुन, जनावर वा आफ्नो वास्तिवक फोटोबाहेकका फोटा हालेका हुन्छन्। यो दसवर्षे चुनौतीले भने स्पष्ट रूपमा मान्छेको वास्तविक र सही फोटो राख्न उत्प्रेरित गर्छ। प्रयोगकर्ता कुन सालमा कति वर्षको थियो, कस्तो देखिन्थ्यो र अहिले के(कस्तो छ भन्ने प्रस्ट्याउँछ। यसबाहेक उनीहरूले सेयर गर्दा लेखेका विवरण पनि फेसबुकको पहुँचमा हुन्छ।’

न्यूयोर्क विश्वविद्यालयकी प्राध्यापक एमी वेबका अनुसार यो ’फोटो चुनौती’ कुनै पनि मेसिन (रोबोट) का निम्ति जानकारी लिन एकदमै सहज र सही बाटो हो। एमी हाल एउटा किताब लेखिरहेकी छन् जसमा कसरी रोबोटहरूले मान्छेलाई बहकाउँदै छ भन्नेबारे लेखिएको छ।

फेसबुकको ’दसवर्षे चुनौती’ मा सहभागी भारतीय अभिनेत्री डायना पेन्टी र श्रुती हसन।
फेसबुकले भने यो फोटो चुनौती आफूहरूले कुनै फाइदा लिन सुरू नगरेको दाबी गरेको छ।

’यो प्रयोगकर्ता आफैंले सुरू गरेको एक मिम हो, जो स्वतः भाइरल भयो। फेसबुकले यसको सुरूआत गरेको होइन। यी मिमले फेसबुकमा पहिल्यै भएका फोटा प्रयोग गरेको थियो। यी मिमबाट फेसबुकले कुनै फाइदा लिँदैन। यसबारे शंका लाग्ने प्रयोगकर्ताले यसलाई चाहेको बेला अनरअफ गर्न सक्छन्,’ फेसबुकले भनेको छ।

तर, फेसबुकका २ अर्बभन्दा बढी प्रयोगकर्तामध्येबाट एकै दिनमा लाखौं फोटा अपलोड भइरहेका छन्। यसबाट फेसबुकलाई कुनै किसिमको फाइदा हुँदैन भन्ने स्वीकार्न सकिन्न।

केही वर्षदेखि फेसबुकले प्रयोगकर्ताको अनुहार पहिचान गर्ने प्रविधिमा काम गरिरहेको छ। यसनिम्ति फोटोमा ’टयाग’ गर्ने, कुनै प्रयोगकर्ताले चिनेजानेको मान्छे भए उसलाई ’ट्याग’ गर्न सुझाउनेजस्ता फिचरले कुनै मान्छेको पहिचान सहज बनाउँदै गएको छ।

उदाहरण, तपाईं फेसबुक चलाउनुहुन्न। कुनै साथीले तपाईं भएको फोटो उसको फेसबुकमा हाल्यो। अपलोड गर्नेलाई फोटामा को(को छन् भनेर सोधिन्छ। भलै यो प्रश्न ऐच्छिक हुन्छ, धेरैले जवाफ दिँदै साथीहरूका नाम लेखिदिने वा ट्याग गरिदिन्छन्। फेसबुक नचलाउनेको अनुहार पनि कहीँ न कहीँ, कतै न कतैबाट फेसबुकको प्ल्याटफर्मसम्म पुगेकै हुन्छ। यो डिलिट गरे पनि फेसबुकको प्रविधिमा संचित हुन्छ।

’तपाईंले फोटा हटाएर फोन वा ल्यापटपै नचलाई कतै घरमै छाडेर हिँडे पनि तपाईंको अनुहार भने इन्टरनेटको त्यो सञ्जालमा रहिरहन्छ। त्यहाँ कुनै कुनामा लुकेको अनुहार तपाईंले घरमा छाडेर हिँड्न सक्नुहुन्न,’ अनुहार पहिचान (फेसियल रिकग्निसन) विज्ञ एल्भारो बेडोयाले भनेका छन्।

सर्सर्ती हेर्दा, यो दसवर्षे चुनौती फेसबुकको नयाँ प्रविधिको विज्ञापनसँग जोडिएको देखिन्छ।

फेसबुकले भने अनुहार पहिचान प्रविधि तत्काल उपलब्ध नगराउने बताउँदै आएको छ। तर उसले चाहेको खण्डमा रोक्न कुनै कानुन छैन। उसको ’मुड’ चल्यो भने यो प्रविधि प्रयोगकर्ताका निम्ति बाध्यात्मक पनि हुन सक्छ।

फेसबुकको ’दसवर्षे चुनौती’ मा सहभागी हलिउड कलाकार रोबर्ट डाउनी जुनियर र स्कार्लेट जोहन्सन।
प्रयोगकर्ताका फोटा यसरी प्रयोग भएको घटना नौलो भने होइन। अनलाइन किनमेल वेबसाइट अमेजन र गुगलले आफ्ना प्रयोगकर्ताले राखेका विवरण अरू काममा प्रयोग गरेको पाइएको थियो।

जस्तै( गुगल फोटोजमा तपाईंका फोटा छन्। कुनै कामवश तपाईंले गुगलमा ’कार’ खोज्नुभयो। यसले तपाईंको अनलाइन संग्रहमा भएका सबै कारका फोटा देखाउनेछ।

हालसालै गुगललाई यस्तै घटनाबारे मुद्दा परेको थियो। गुगल फोटोज प्रयोगकर्ताले खिचेका फोटामध्ये ती महिला ११ वटामा देखिएकी थिइन्। उनलाई यसबारे कुनै जानकारी थिएन। थाहै नपाइ खिचेको फोटामा उनी देखिनु कुनै अपराध नभएको भन्दै मुद्दा खारेज भयो। तर, फोटो खिच्न तम्तयार क्यामरा जहीँतहीँ तेर्सिएको समयमा उनको मुद्दाबारे धेरै आवाज उठ्यो।

कल्पना गर्नुस् त, १४ वर्ष अगाडिको तपाईंको फोटामा पछाडि कोही देखिएको छ र इन्टरनेटको सहयोगले केही सेकेन्डमै त्यो मान्छे तपाईंले चिन्नुहुन्छ। के यो सही हो?

’प्रहरीले कुनै आपराधिक घटनामा संलग्न मान्छेका बारेमा पत्ता लाउन यो प्रविधि प्रयोग गर्न सक्छ। योसँगै प्रहरीले सामान्य अपराध मान्ने जस्तै, जुलुस, प्रदर्शनीमा सहभागी हुनेको पनि जानकारी लिन सक्छ,’ ओनिलले भनेकी छन्।

धेरै मान्छेलाई थाहै छैन, उनीहरूको फोटो उनीहरूले राखेका बाँकी जानकारीसँग कसरी मिलाउन सकिन्छ भनेर। फोटै राखेपछि यो विवरण झन् सत्य हुन्छ।

हालै भएको एक अध्ययनअनुसार एक जना सामान्य अमेरिकी नागरिक दिनमा ७५ पटक क्यामरामा देखिन्छ। र, यो दिनहुँ बढ्दै छ। जसको उपकरणमा अनुहार पहिचान प्रविधि छ, त्यसले झनै क्यामरामा देखिने समय बढाउँछ। अपराध नियन्त्रणमा यसले सघाउ पुर्याइरहेको कुरा नकार्न सकिन्न। धेरै मामिलामा यसले समस्या पनि सिर्जना गरेको छ।

धेरै व्यवसायीले अचेल कर्मचारी नियुक्त गर्ने बेला यस्तो प्रविधि प्रयोग गरेको पाइन्छ। आफूकहाँ काम गर्ने कर्मचारी कुनै आपराधिक क्रियाकलापमा संलग्न छरछैन भन्ने उनीहरूको मुख्य चासो छ। यसले कम्पनीहरूलाई राम्रै गर्छ। हराएका मान्छे भेट्न पनि यसले सघाउँछ।

’यी सबै प्रविधि कुनै विशेष कामका लागि अति नै उपयोगी छन्। तर यसका जोखिमबारे पनि थाहा पाइराख्नुपर्छ। किनकि, जसरी यो प्रविधि सकारात्मक कामका निम्ति सहजै प्रयोग हुन सक्छन्, त्यसरी नै नकारात्मक कामका निम्ति पनि हुन सक्छन्,’ ओनिलले भनेकी छन्।

(अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

एजेन्सी

तपाईको प्रतिक्रिया

Comments