जेबि खड्का
गौरादह, १० जेठ २०८२ । किसानले लगाएको चैते धानले निर्धारण गरेको मूल्य नपाउँदा किसानहरुले बिरोध गरेका छन। किसानको फसल निस्किएपछि मूल्य घट्दा किसान मारमा परेको गौरादहका किसानले गुनासो गरेका छन। गौरादह नगरपालिका वडा नं.८ जुरोपानीमा रहेको जोरपोल उच्च कृषक समुहमा आवद्ध किसानहरुले प्लेकार्ड सहित शनिबार बिरोध गरेका छन।
किसानहरुले हलो, जुवा र कोदालो सडकमा राखि धान मकै सडकमा छरेर एक घण्टा सडक अबरुद्ध गरेका थिए। पडाजुँगी गौरीगंज सडक खण्ड अन्तर्गत जुरोपानीको चन्दन चौकमा मकैका बोट र धानका बाल समेत हातमा बोकेर नारा लगाउदै आपत्ति प्रकट गरेका थिए। कृषक समुहले यस अघि किसानका मुख्य ४ वटा माग राखि नगरपालिका र वडा कार्यलयमा ज्ञापनपत्र बुझाएका थिए। सरकारले निर्धारण गरेको मूल्य किसानले पाउनुपर्ने, मल बीउ औषधि समयमा पाउनु पर्ने, ट्याक्टर जोताई दर रेट कम हुनु पर्ने, कृषि सिचाइ महसुल छुट हुनुपर्ने माग राखेका थिए। किसानले उब्जाएको बाली किसानको हातमा रहुन्जेल मूल्य कम भएको र ब्यापारीको हातमा पुगेपछि मूल्य बृद्धी हुनेगरेको गुनासो गरेका थिए। किसानले दुख गरेर फलाएको बालीमा बिचौलिया हाबीहुदा किसान मारमा परेको गुनासो गरेका थिए। सबैका लागि पेट भर्न चाहिने अन्नबाली किसानले दुख गरेर फलाउने तर त्यही किसान जहिले पनि मारमा पर्ने गरेको उनीहरुको भनाइ थियो ।
मुलुकमा तीन तहको सरकार रहेपनि किसानका समस्याहरु प्राथमिकतामा नपरेको किसानको भनाइ थियो। सरकारले किसानका समस्याहरुलाई सम्बोधन नगरेमा भबिस्य किसान कृषि पेशाबाट पलायन हुन सक्ने बताएका थिए। जोरपोल कृषक समुहका अध्यक्ष ईन्द्र प्रसाद पोख्रेल, वडा नं.८ का वडाध्यक्ष गणेश प्रसाद राजवंशी स्थानीय लिला सुवेदी, डिल्ली पोख्रेल, माधब पौडेल, पुर्ण कार्की, फडिन्द्र वाग्ले, चन्द्र पौडेल, जय बहादुर कटुवाल , बेद प्रसाद सुवेदी लगायतले धारणा राखेका थिए।







