Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

विराटनगर, ५ जेठ २०८२ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन्। प्रदेशसभाको सातौं अधिवेशनको दोस्रो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेशको दिगो विकास, वित्तीय सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रमले प्रदेश संरचनाको सुदृढीकरण र संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।

आन्तरिक राजस्व वृद्धि, स्रोतको दीर्घकालीन व्यवस्थापन र नीतिगत सुधारका साथै आर्थिक आत्मनिर्भरता र वित्तीय पारदर्शिताका लागि शासकीय सुधारमार्फत स्रोत परिचालनलाई सुदृढ गर्ने योजना प्रदेशसभामा प्रस्तुत गरिएको छ। प्रदेश सरकारले दिगो विकास योजनामा भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि, ऊर्जा र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ।

कोशी पर्यटन वर्ष २०८२ लाई आधार वर्षका रूपमा लिएर राष्ट्रिय पुँजी विकास गर्ने लक्ष्य नीति तथा कार्यक्रममार्फत प्रस्तुत गरिएको छ। पर्यटक भित्र्याउन नीतिगत र संरचनागत सुधार तथा पर्यटकीय पूर्वाधार विस्तारमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। यसअघि सम्पन्न प्रदेश लगानी सम्मेलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सार्वजनिक–निजी साझेदारी तथा सहकारी अवधारणामा आधारित परियोजना विकासलाई प्रोत्साहित गरिने योजनासमेत समावेश गरिएको छ।

लगानी सम्मेलनले स्थानीय लगानी प्रवाहलाई गति दिएर प्रदेशको समग्र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। शासकीय सुधारका लागि सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन नीतिगत पुनरावलोकन, संस्थागत पुनर्संरचना र प्रशासनिक सुधारमा जोड दिइने विषय नीति तथा कार्यक्रममा समेटिएको छ।

जनतासँगको सीधा सम्पर्क, सेवा प्रवाहमा पारदर्शिता र नीतिगत स्पष्टतालाई प्राथमिकता दिँदै सुशासन प्रवर्द्धनको योजनासमेत अघि सारिएको छ। प्रदेश सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना, उत्पादन वृद्धिसँगै वातावरण संरक्षण र जलवायु परिवर्तनका असरलाई समेत ध्यानमा राखेर सन्तुलित र दिगो विकासका योजना अघि नीति तथा कार्यक्रममार्फत अघि सारेको छ।

 

तपाईको प्रतिक्रिया