काठमाडौं, ५ जेठ २०८२ । नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को मानसिक रोग विभागमा कार्यरत चिकित्सकलाई कारबाही गरेको छ ।
काउन्सिलको बिहीबार बसेको बैठकले विभागमा कार्यरत चिकित्सकलाई तीन महिनासम्म डीनको निगरानीमा रहनेगरी काम गराउनका लागि निर्देशन दिएको हो ।
‘विभागमा कार्यरत चिकित्सकलाई तीन महिनासम्म डीनको निगरानी रहेर काम गराउने भन्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक सदस्यले अनलाइनखबरसँग भने, ‘उहाँहरूको व्यवहार र आचरणमा सुधार गर्नसमेत निर्देशन दिइएको छ ।’
धुलिखेल अस्पतालको एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत ४ फागुन (आइतबार) आत्महत्याको प्रयास गरेकी थिइन् । आत्महत्या प्रयास गर्नुको कारणमा चिकित्सकले निरन्तर दिएको मानसिक दबाब र गालीगलौज गरेको आवासीय चिकित्सकको आरोप थियो ।
उक्त विषयलाई लिएर मानसिक रोग विभागमा कार्यरत चिकित्सकमाथि काउन्सिलले स्पष्टीकरण सोधेको थियो । विभागका प्रमुख डा। अजय रिसाल, सोही विभागका डा। दीपक कुँवर, डा.वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई निलम्बन गर्दै आरोपित चिकित्सक र पीडित दुवै पक्षको १८ फागुनमा बयान लिएको थियो ।
बयानको आधारमा मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल, सोही विभागका डा. दीपक कुँवरलाई किन कारबाही नगर्ने भन्दै मेडिकल काउन्सिलले स्पष्टीकरण समेत साधेको थियो ।
निरन्तर शिक्षकले आफूमाथि मानसिक यातना र गाली गलौज गरेकै कारण आत्महत्या प्रयास गर्न बाध्य भएको ती चिकित्सकले बताएकी थिइन् ।
‘सानो गल्तीलाई पनि ठूलो बनाएर गाली गर्नुहुन्थ्यो । तिमीहरू यति पनि नजान्ने, तिमीहरू धर्तिको बोझ हौ लगायतका सुन्नै नसक्ने शब्द प्रयोग गर्नुहुन्थ्यो,’ ती चिकित्सकले भनेकी थिइन, ‘४ फागुनको घटनाले मलाई आत्महत्या गर्ने सोचमा पुर्यायो ।’
उनका अनुसार डा. अजय लगायतका अन्य चिकित्सकले बिरामीकै अगाडि फाइल फाल्दै प्रत्येक दिन गाली गरिरहन्थे ।
शिक्षकबाट हुने गरेको मानसिक तनावकै कारण आफूमा डर पैदा भएको र त्यसले आफ्नो अध्ययनको गुणस्तर पनि खस्किएको उनले बताएकी थिइन् ।
उनले आत्महत्याको गर्नुको पछाडि गत ४ गतेको घटनासँगै त्यसभन्दा अगाडिका शिक्षकबाट निरन्तर हुने गरेको मानसिक तनाव नै बताएकी थिइन् ।






