Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

झापा, ४ वैशाख २०८२ । झापा मेचीनगर नगरपालिका-१० धुलाबारीस्थित द गिफ्टोरियम अवैध वित्तीय कारोबारको ठूलो केन्द्र भएको पुष्टि भएको छ । बाहिरीरुपमा आयात निर्यातको ठूलो कारोबार गर्दै आएको द गिफ्टोरियमको अवैध वित्तीय कारोबारको सञ्जाल देशभरि देखिएको हो । दुई साताअघि सीआईबीले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई ११ जिल्लाबाट पक्राउ गरेपछि गिफ्टोरियमबाट अवैध वित्तीय कारोबार सञ्चालन भएको खुलेको थियो । उनीहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुल्न आएको थियो ।

त्यही जानकारीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न ७ जनालाई बुधवार गिफ्टोरियमबाट पक्राउ गरेको हो । गिफ्टोरियमका मुख्य सञ्चालक मेचीनगर-७ धुलाबारी निवासी कविस मारु र अनुज मारु हुन् । उनीहरूसँगै सहयोगीहरू मेचीनगर-७ धुलाबारीकै निर्मल राई, दीपेन्द्र खड्का, महेश पौडेल, बिर्तामोड-५ का अङ्कित अग्रवाल र बिर्तामोड-५ कै सुनिल राई पक्राउ परेका छन् । उनीहरूसँग झापाका अन्य व्यक्तिहरू पनि अवैध वित्तीय कारोबारमा संलग्न रहेको बुझिएको छ । जसको बारेमा सीआइबीले अनुसन्धान गरिरहेको छ ।

अवैध वित्तीय कारोबारको ठूलो र पुरानो सञ्जाल भएकाले त्यसबारे अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए । गिफ्टोरियमबाट प्रत्यक्षरुपमा अवैध वित्तीय कारोबारको सञ्जाल सञ्चालन भएको विषयमा पनि अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । बुधवार धुलाबारीमा पक्राउ परेका ७ जनालाई सीआइबीले अझै सार्वजनिक गरेको छैन ।

अवैध वित्तीय कारोबारमा झापाका अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशङ्कामा सीआइबीले अनुसन्धान गरिरहेकाले पक्राउ परेका ७ जनालाई सार्वजनिक नगरेको एक प्रहरी अधिकारीले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया