काठमाडौँ, २५ वैशाख २०८२ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण सुरू भएको छ। शिक्षक आन्दोलनका कारण रोकिएको उत्तरपुस्तिका परीक्षण कार्य सुरू गरिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाका अनुसार शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिएको थियो। तर,सरकार र शिक्षकबीच सहमति भएर विद्यालयमा शिक्षकहरू फर्किएपछि रोकिएको परीक्षणको काम सुरू भएको उनले जानकारी दिए। ‘शिक्षक आन्दोलनले केही बाधा उत्पन्न भएको थियो,तर अब त शिक्षकहरू फर्किसक्नु भएको छ,त्यसैले एसइईको उत्तरपुस्तिका परीक्षणको काम पनि सुरू भएको छ,’उनले थाहाखबरसँग भने।
२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकरकर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए।
आन्दोलन अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुन शिक्षकहरूलाई उर्दी जारी गरेपछि उत्तरपुस्तिका परीक्षणको काम रोकिएको थियो।
उनीहरूको आन्दोलन २९ दिनसम्म चल्यो। वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि भने शिक्षकहरू घर फर्किएका थिए। त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले। नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो। विद्यालय कर्मचारीहरू भने आफ्नो माग नसमेटिएको भन्दै आन्दोलन जारी राखेका छन्।
कहिले होला नतिजा प्रकाशन ?
परीक्षा बोर्डले परीक्षा सञ्चालन सकिएपछि असार पहिलो हप्तामा नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो। तर,शिक्षक आन्दोलनले यो समयमा नतिजा प्रकाशन हुने देखिएको छैन। समयमा उत्तरपुस्तिका परीक्षण नभएकाले नतिजा प्रकाशनमा ढिलाई हुने भएको छ।
अब कहिलेसम्ममा नतिजा प्रकाशित होला भन्ने प्रश्नमा बोर्डले समेत यकिन समय तोक्न सकेको छैन। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक निरौलाले अब आधा उत्तरपुस्तिका परीक्षण गरिसकेपछि मात्रै नतिजा प्रकाशनको समयबारे भन्न सकिने बताए।
उनले भने,‘हामीले असार पहिलो हप्तातिर नै नतिजा प्रकाशन गर्ने लक्ष्य लिएका थियौँ,तर,शिक्षक आन्दोलनले समयमा उत्तरपुस्तिका परीक्षण भएन,बल्ल त उत्तरपुस्तिका परीक्षणको काम सुरू भएको छ,त्यसैले अहिले नै यो समयरमितिमा प्रकाशित हुन्छ भनेर हामी भन्न सक्दैनौँ,ग्यारेन्टी गर्न सक्दैनौँ,अब आधा(५० प्रतिशत) उत्तरपुस्तिका परीक्षण सकिएपछि मात्रै हामी भन्न सक्छौँ,त्यसपछि सेड्युल नै बनाएर काम अघि बढ्छ,नतिजा प्रकाशनको समय तोकिन्छ।’
उनले अहिले बोर्डबाट हुनुपर्ने,गर्नुपर्ने काम भने धमाधम भइरहेको जानकारी दिए। ‘बोर्डले गर्नुपर्ने कामहरू गरिरहेको छ,शिक्षकहरू पनि अहोरात्र खटिरहनु भएको छ,उहाँहरूले काम सकाएपछि बोर्डले गर्नुपर्ने काम गर्छ,सकभर छिटो नै प्रकाशित गर्नेगरि काम भइरहेको छ,’उनले भने।
१५ हजार विद्यार्थीले दिएनन् एसइई
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का अनुसार यो एसइई परीक्षामा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २१६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले फाराम भरेका थिए। तर यी सबै विद्यार्थी परीक्षामा भने सहभागी भएका छैनन्।
बोर्डले फाराम भरेका नियमित र ग्रेडवृद्धि सबैगरी करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी नभएको जनाएको छ। परीक्षाका लागि देशभर २ हजार ७९ वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो।
एसइई परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन भएको थियो। पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय,संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भएको थियो।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) लगायत विषयको परीक्षा समावेश थियो।