जेबि खड्का
गौरादह, २३ वैशाख २०८२ । बिदेशमा सिकेको सीपलाई उपयोग गर्दै गौरादह नगरपालिका वडा नं.१ को सितापुरीका एक किसानले खरबुजा खेती गरेका छन। बिदेशमा पनि कृषि अन्तर्गत खरबुजा खेतीको काम गरेकाले नेपालमा फर्केर आएपछि खरबुजा खेती गरेकाहुन।बिशेष गरि खोलाको बगर वा बलुवामा फलाइदै आएको खरबुजा सितापुरीका किसानले माटोमा नै फलाएका छन।
गौरादह-१ सितापुरीका किसान तुलसा सिवाकोटी (सलु) र उनका श्रीमान महेन्द्र बहादुर रावलले आधुनिक प्रबिधिबाट चिम्टयाइलो माटोमा खरबुजा र तरबुजा फलाएका छन। खरबुजा लगाइएको स्थानमा झार पलाउन नदिन मल्चिङ प्रबिधि प्रयोग गरिएको रावलको भनाइ छ। गर्मी मौसममा खरबुजा निस्कने, खानमा रसिलो र स्वादिलो हुने भएकाले मानिसहरुले खान रुचाउने गर्दछन।
ब्युटिपार्लर समेत गर्दै आएकी सिवाकोटी कृषि तथा पशुपालन गर्ने उद्देश्यले रावल पशुपालन तथा कृषि फारम दर्ता गरेर व्यावसायिक रुपमा खरबुजा खेती गरेका छन। सुरुवाती समयमा व्यावसायिक रुपमा तरकारी खेती गर्ने योजना बनाएका रावलले यस क्षेत्रमा खरबुजा खेती नभएकाले खरबुजा र तरबुजा खेतीले बजार पाउने बुझेपछि त्यसको खेती गरेको उनको भनाइ छ। रावल दम्पतीले खरबुजा, तरबुजा, काँक्रा का साथै ड्राइगन फुड खेती पनि गरेका छन। करिब १० कठ्ठा जग्गामा खरबुजा खेती गरेका रावल दम्पतीले राम्रो सँग खरबुजा फलेपछी अहिले खुशी ब्यक्त गरेका छन। खरबुजा फलेपछी पहिलो चरणमा करिब ३० हजारको बिक्री गरेको सिवाकोटीले बताइन। खरबुजा निस्किएपछि ५० रुपैयाँ के.जि. का दरले बिक्री भएको उनको भनाइ छ। घरमा आउने सबैलाई खरबुजा खान दिएको पनि सिवाकोटीले बताइन। अहिले सम्म जति खरबुजा निक्लेपनि बिक्रीका लागि बजार लानु नपरेको सिवाकोटीले बताइन। जति निकाले पनि गाउँ घरमा नै बिक्री भएको उनले बताइन। बजारमा बिक्रीका लागि ब्यापारीहरुबाट माग भएपनि अहिले सम्म दिन नसकिएको र दोस्रो लटमा बढी निस्किएमा ब्यापारीहरुलाई समेत बिक्री गर्ने उनले बताइन। अब केही दिन पछि करिब एक ट्रक खरबुजा निस्कने उनले बताइन।
खरबुजा खेतीका लागि भारतीय क्षेत्रबाट बीउ खरिद गरेर लगाएको र बीउ महंगो भएको पनि सिवाकोटीले बताइन। करिब १० कठ्ठा जग्गामा खरबुजा लगाउन ३० हजारको बीउ खरिद गरेको सिवाकोटीको भनाइ छ। खरबुजा खेतीबाट सन्तुष्ट रहेको बताए पनि समयमा रासायनिक मल नपाएकोमा उनले गुनासो गरिन। किसानका लागि आवश्यक समयमा मल, उन्नत जातको बीउ र किटनासक औषधि समयमा नपाउदा कृषि पेशामा किसान हतोत्साहित भएको उनको भनाइ छ।
किसानहरुका समस्या प्रति स्थानीय सरकार उत्तरदायी रहेको गौरादह नगरपालिका वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी बताउँछन् । व्यावसायिक रुपमा तरकारी तथा फलफुल खेती गर्ने किसानहरुको स्थानीय सरकारले लगत राख्ने र रासायनिक मल बितरणमा त्यस्ता किसानलाई पहिलो प्राथमिकता दिने वडाध्यक्ष भण्डारीले बताएका छन। वडा नं. १ मा पहिलो पटक किसानले व्यावसायिक रुपमा खरबुजा खेती गरेकाले खरबुजा बिक्रीका लागि प्रचारप्रसार गर्ने र व्यावसायिक खेती गर्ने किसानका माग बमोजिम सहजताका लागि स्थानीय सरकारले योजना बनाउने वडाध्यक्ष भण्डारीले बताएका छन।