Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

बिर्तामोड, ६ माघ । झापा र इलामको माटोमा पछिल्लो समय अम्लपनको मात्रा बढ्दै गएको पाइएको छ। माटो तथा मल परीक्षण प्रयोगशाला सुरुंगाले ०७०र०७१ मा झापाको माटोमा ३२ प्रतिशत र इलामको माटोमा १४ प्रतिशत अम्लीयपन भएको बताएको थियो।

प्रयोगशालाको तथ्यांकमा ०७१र७२ मा झापाको माटोमा अम्लीयपनको मात्रा पाँच प्रतिशत बढेको उल्लेख छ। त्यस्तै इलाममा भने ४० प्रतिशत। ०७२र७३ मा झापाको माटोको अम्लीयपना ४१ प्रतिशत पुग्यो भने इलामको माटोमा ६० प्रतिशत भेटियो। ०७३र७४ मा झापाको माटोमा ४६ प्रतिशत अम्लीयपन भेटियो। ०७४र७५ सम्म पुग्दा बढेर ५४ प्रतिशत पुगेको छ। जसमा तटस्थ प्रतिशत २ छ।

प्रयोगशालाको रिपोर्टले झापा र इलामको माटोमा प्रांगारिक पदार्थको मात्रा पनि अत्यधिक घट्दै गएको देखाएको छ। ०७०र०७१ मा झापाको माटोमा यसको मात्रा १७ प्रतिशत थियो भने इलामको माटोमा ३४ प्रतिशत। ०७४र७५ मा आइपुग्दा इलामको माटोमा प्रांगारिक पदार्थको मात्रा अधिक तीन प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ। प्रत्येक वर्ष माटोमा बढ्दै गएको अम्लीयपनले उर्वराशक्ति घट्दै गएको माटो तथा मल परीक्षण प्रयोगशाला सुरुंगाकी सूचना अधिकृत अञ्जु बुढाथोकीले बताइन्। अम्लीयपनले माटो बिग्रिँदै गएको र उत्पादनमा कमी आएको उनी बताउँछिन्। प्रांगारिक मलको मात्रा बढाएर माटोलाई बिग्रिनबाट जोगाउन सकिने बुढाकोथीले उपाय सझाइन्।

प्रयोगशालाका माटोविज्ञ हरिबहादुर भुजेल माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण रासायनिक मलको बढ्दो प्रयोग भएको बताउँछन्। ‘बस्तु पाल्ने र गोबर मल हाल्ने चलन नै हराइसक्यो’, उनले भने, ‘किसानहरूमा माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग ज्यादा हुनाले माटो बिग्रिरहेको छ।’ झापा र इलाममा मात्र नभई प्रदेश १ का १४ वटै जिल्लामा माटोमा अम्लीयपन बढ्दै गएको भुजेलले बताए। ‘माटो परीक्षण नगरी रासायनिक मल प्रयोग हुने गरेको छ। युरिया धेरै प्रयोग हुन्छ’, उनले भने, ‘पोटास र डीएपीको मात्रा मिलाइँदैन। यसले माटोमा अम्लीयपन बढाउँदै लगेको छ।’ वर्षमा एउटै मात्र बाली लगाउँदा पनि अम्लीयपन बढ्ने उनको भनाइ छ।

माटो परीक्षण नगरी रासायनिक मल प्रयोग हुनु र गोबर मलको घढ्दो प्रयोगले बर्से्नि माटोमा अम्लीयपन बढ्दै गएको विज्ञ बताउँछन्।

बालीअनुसार अम्लीय आवश्यकताको मात्रा फरक हुने भुजेल बताउँछन्। अम्लीयपन बढे उत्पादन स्वतः घट्ने उनको भनाइ छ। अम्लीयपनको मात्रा यसरी नै बढे तरकारी, फलफूललगायत बाली उत्पादन केही वर्षमै शून्यमा झर्ने स्थिति रहेको माटोविज्ञ बताउँछन्। जमिन ५.५ देखि ६.५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ। ४.५ देखि ५.६ सम्म हुँदा चिया खेती गर्न सकिन्छ। तर, ५.५ देखि तल झरेपछि क्रमशः उत्पादन घट्दै जाने र माटो सुधार्नुपर्ने अवस्था आउने विज्ञको भनाइ छ।

माटोविज्ञ भुजेल अम्लीयपन घटाउन चक्रीय प्रणालीअनुरूप बाली लगाउनुपर्ने बताउँछन्। सिजनअनुसार धान, गहुँ रोपेपछि, तरकारी, फलफूल, कोसेबाली लगाउनुपर्ने उनको सुझाव छ। मास, मुग दालजस्ता बाली लगाउनाले जमिन उर्वर हुने र त्यस्ता बालीले माटोको अम्लीयपन घटाउन मद्दत गर्ने उनको भनाइ छ। ‘मानिसलाई खानाको जति आवश्यक पर्छ विरुवाका लागि त्यति नै आवश्यक तत्त्व माटोमा हुन्छ’, विज्ञ भुजेलले भने। बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिने उनी बताउँछन्। कृषि विकास मन्त्रालयले माटो सुधारका लागि थप कार्यक्रम तय गर्न आवश्यक रहेको भुजेलको सुझाव छ।

कृषि चुन अभाव

नेपाली बजारमा माटोको अम्लीयपन घटाउन मद्दत गर्ने कृषि चुनको अभाव छ। सरकारले अनुदानमा कृषकलाई चुन उपलब्ध गराउन आवश्यक रहेको कृषकहरू बताउँछन्। कृषकलाई माटो परीक्षणबारे सचेत गराई सुधार्ने्तिर पनि ध्यान दिनुपर्ने र सहज रूपमा कृषि चुन पाउने व्यवस्था मिलाउनुपर्ने इलाम देउमाई नगरपालिकाका–५ का कृषक होम खत्री बताउँछन्। प्रत्येक वर्ष उत्पादन घट्दै गएको उनी सुनाउँछन्। उत्पादनमा आएको ह्रासले कृषक पनि निरास रहेको विज्ञ भुजेलको भनाइ छ। ‘चेतना अभावमा अनावश्यक रासायनिक मल प्रयोग बढेको छ’, उनले बताए। प्रयोगशालाले माटो शिविरको आयोजना पनि गर्दै आएको छ। बालीमा आवश्यक तत्त्व नाइट्रोजन, फस्फोरस, पोटासलगायत मात्रा पनि घट्दो देखिन्छ।

झापाको एक लाख बढी हेक्टर क्षेत्रफलमा बर्खे धानखेती हुने गर्छ। अम्लीयपनको मात्र यसरी नै बढ्ने हो भने धानको भण्डार मानिने झापामा धान उत्पादन ज्यादै न्यून हुने कृषिविज्ञ चिन्ता गर्छन्।
अन्नपूर्णपोष्टबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments