Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

भद्रपुर, २१ वैशाख २०८२ । झापामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । आउँदो जेठको पहिलो सातादेखि प्रतियोगिता गर्ने गरी झापा जिल्ला खेलकुद विकास समितिले तयारी थालेको समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समिति झापाको हालै सम्पन्न बैठकले झापाको अर्जुनधारामा आगामी जेठ ८ देखि १० गतेसम्म कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको र कोशी प्रदेशका सबै जिल्ला खेलकुद विकास समिति र बक्सिङ संघहरुलाई प्रतियोगिता सम्बन्धमा पत्राचार गरिएको समितिका सदस्य एवम् प्रवक्ता जगण दुर्वासा कार्कीले जानकारी दिए ।

प्रतियोगिताको संयोजन कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्ने बताइएको छ ।

स्वास्थ्य, सुरक्षा र आत्मरक्षाको दृष्टिकोणले खेलकुदको महत्त्वपूर्ण विधामा पर्ने बक्सिङप्रति युवाहरूको आकर्षण बढाउने र बक्सिङ खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष भण्डारीले बताए ।

एथलेटिक्स प्रशिक्षक विष्टलाई बिदाइ

एथलेटिक्स विधाको प्रशिक्षकको रुपमा झन्डै डेढ दशक झापा जिल्ला खेलकुद विकास समितिमा कार्यरत रही अनिवार्य अवकाश लिएकी नर्वदा विष्टलाई समितिले सम्मानसहित बिदाइ गरेको छ ।

वि. सं. २०६९ सालदेखि झापा खेलकुद विकास समितिमा एथलेटिक्स प्रशिक्षकको रुपमा नियुक्ति लिई आफ्नो क्षमता र कुशलताबाट एथलेटिक्समा अब्बल खेलाडी उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्दै यही बैशाख १५ गतेदेखि अवकाश लिएकी झापा दमक निवासी विष्टलाई समितिकै सभा हलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच मायाको चिनोसहित सम्मानपत्र प्रदान गर्दै बिदाइ गरिएको समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

विष्टलाई अध्यक्ष भण्डारी, उपाध्यक्ष गंगा भुर्तेललगायत समितिका सदस्य, कर्मचारीहरूले खादा, माला पहिरयाएर सम्मानपत्र हस्तान्तरण गर्दै बिदाइ गरेका थिए । सोक्रममा अध्यक्ष भण्डारीले विष्टको सेवा निवृत्त सफल जीवनको कामना गर्दै समितिले आवश्यकता अनुसार उनको एथलेटिक्स अनुभव र क्षमतालाई सधैँ उपयोग गर्ने बताए ।

 

 

तपाईको प्रतिक्रिया