काठमाडौं, १९ वैशाख २०८२ । सरकारले २०८२/८३ को नीति तथा कार्यक्रममा स्कुल स्पोर्टस कार्यक्रम ल्याउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्कुल स्पोर्टस कार्यक्रम ल्याउने बताएका हुन्। उनले भने,‘संघ, प्रदेश र स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्टस स्कुल कार्यक्रम सुरु गरिनेछ।’
विद्यालय स्तरदेखि खेलकुद तालिम प्रशिक्षक र खेलाडी उत्पादनको कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
युवाको शारीरिक तथा मानसिक वृद्धिका लागि नियमित खेलकुद कार्यक्रम गर्ने उनले बताए। उनले भने,‘युवाको शारीरिक र मानसिक वृद्धिका लागि नियमित खेलकुद आयोजना गरिनेछ।’
नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछ।
युवालाई समाजमा आर्थिक र सामाजिक परिचालकको रूपमा परिचालन गर्ने राष्ट्रपति पौडेलले बताए। उनले भने,‘युवालाई स्वयंसेवी र सदाचारी बनाइनेछ।’