Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

काठमाडौं, १ वैशाख २०८२ । राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालय स्रोतका अनुसार नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको हो। ‘विदेशी नागरिक भएर उहाँ राजनीतिक गतिविधिमा संलग्न भएको भेटियो। पक्राउ पर्दा पनि राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए। कुनै पनि विदेशी नागरिकले नेपालको आन्तरिक मामिलामा दखल दिन मिल्दैन,’ स्रोतले भन्यो।

गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए। उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए। लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो। प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो। पर्यटक भिसामा नेपाल बस्दै आएका उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाट गरेको स्रोतको भनाइ छ।

‘पर्यटक भिसामा आएर नेपालको सार्वभौममाथि प्रहार हुने खालका कुनै पनि गतिविधि गर्न पाइँदैन। कानुनले नै त्यसलाई बन्देज लगाएको छ। तर अमेरिकी नागरिक जुलियन किर्पालले निरन्तर राजनीति गतिविधिमा संलग्न भएको पायौं। सोही आधारमा उहाँलाई डीपोर्ट गर्ने निर्णय गरिएको हो,’ स्रोतले भन्यो। किर्पाललाई भोलि (मंगलबार) अमेरिका फर्काइनेछ।

 

तपाईको प्रतिक्रिया