Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

२८ चैत २०८१ । पछिल्लो २४ घण्टामा चट्याङका कारण देशभर ५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् । झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो । मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ । धनुषाको नगराइन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको मृत्यु भएको छ । खेतमा गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

डोटीको सायल गाउँपालिका–६ दल्लेखमा ३३ वर्षीया महिलाको मृत्यु भएको छ । सो स्थानमा ७ जना घाइते भएका छन् । बझाङको बित्थडचिर गाउँपालिका–३ मा ७८ वर्षीया महिलाको मृत्यु भएको छ । सो ठाउँमा २ जना बालिका घाइते भएका छन् । गएरातिबाट आएको वर्षाका कारण कालिकोटको रास्कोट नगरपालिका–६ मा लेदो सहितको पानीको कारण एउटा घरमा क्षति पुगेको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला स्थित राप्ती राजमार्गमा पहिरोका कारण क्षति पुगेको छ । त्यस्तै कालिकोटको सुर्खेत–हुम्ला सडक अवरुद्ध भएको छ । विपद्‌मा परेर देशभर १६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया