Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

काठमाडौं, २१ चैत २०८१ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। बुधबार २५.३१ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा कायम भएको हो। कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। बुधबार ५ अर्ब बराबरको सेयर कारोबार भएकोमा आज ७ अर्बमाथिको कारोबार भएको छ।

यसदिन ३२४ स्क्रिप्सको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँमा खरिदबिक्री भए। आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ग्रीन भेन्चर्सको सेयर ९.९९ प्रतिशतले बढ्यो। उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.१० प्रतिशतले घट्यो।

यसैगरी कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७२ करोड ३२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

नेपाल इन्स्योरे‍न्सले ५५ करोडको सेयर कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४२ करोडको सेयर कारोबार भयो। यस्तै हिमालयन पावरले ३४ करोडको सेयर कारोबार गर्दा राधी विद्युत कम्पनीले ३२ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

कारोबारमा आएकामध्ये ९३ स्टक्सको मूल्य बढ्दा १५१ वटाको घटयो। चार समूहबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।

तपाईको प्रतिक्रिया