Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

इटहरीर, २  गते ।  जनघनत्व उच्च रूपमा बढिरहेको इटहरी शहरको सुरक्षालाई मजबुत बनाउन इटहरीको मुख्य चोक आसपासमा सीसी क्यामेरा जडान भएको छ । इटहरीको सुरक्षा चुस्तदुरुस्त भएमात्र इटहरीका उद्योगी व्यपारीले ढुक्क हुने अवस्था निमार्ण हुने भएकाले सीसी क्यामेरा जडान गरिएको बताइएको छ ।

लामो समयदेखि क्यामेराविहीन इटहरीलाई अहिले भने आधा दर्जन बढी क्यामेराको निगरानीमा राख्न थालिएको छ । वर्षेनीजस्तो क्यामेरा किने पनि मर्मत नहुँदा क्यामेरामा गरेको लगानी बालुवामा पानी सरह हुँदै आएको छ ।

इटहरी अब अत्याधुनिक सीसीटीभी क्यामेराको निगरानीमा रहने भएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीको पहलमा विभिन्न सङ्घ–संस्थाको सहयोगबाट करिब १२ लाख मूल्य बराबरको ८ वटा नाइटभिजन क्यामेरा इटहरीमा जडान भएको छ ।

उद्योग वाणिज्य सङ्घ इटहरीले दिवस पोखरेलको संयोजनमा बनाएको समितिले इटहरीका ८ वटा संवेदनशील स्थानमा क्यामेरा जडान गरेको हो ।

कोटेसनमार्फत् इटहरीको कुनाल स्टोरले ४ मेघापिक्सलको नाइटभिजन क्यामेरा जडान गरिसकेको छ । क्यामेराको मनिटरिङ इलाका प्रहरी कार्यालय इटहरीबाट गरिने छ ।

सय मिटरसम्म स्पष्ट देखिने उक्त आधुनिक क्यामेरा जडानले दुर्घटना गर्ने सवारी साधनको नम्बर तथा आपराधिक कृयाकलाप गर्ने व्यक्तिको पहिचान गर्न सक्ने क्षमता भएको कुनाल स्टोरका सञ्चालक बलराम भण्डारीले बताए ।

क्यामेरा मर्मतको काम नहुँदा यसअघि जोडिएका सबै क्यामेरा कामै नलाग्ने अवस्थामा रहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी शिव श्रेष्ठले बताए ।

सम्भावित आपराधिक घटना र सुरक्षालाई मध्यनजर गर्दै पूर्वका मुख्य सहरमा लगाइएका सीसी क्यामेरा जडान गरी मर्मतको काममा समेत ध्यान दिने उनको भनाइ थियो ।

उद्योग वाणिज्य सङ्घ इटहरीले बजार क्षेत्रमा राखिएका ४ वटा सीसी क्यामरा मर्मत अभावमा ब्रिग्रिएको जनाएको छ । इटहरीमा तामझामको साथ राखिएको रातको समयमा ८० मिटर वरपरसम्म देखिने नाइटभिजन सीसी क्यामेरा अलपत्र बनेको थियो ।

तरहरामा पनि तामझामको साथ राखिएका सीसी क्यामेरा पनि उसै गरी बिग्रिएका छन् ।

बढ्दो शहरीकरणसँगै व्यापारिक सुरक्षालाई मध्यनजर गर्दै विभिन्न सामाजिक सङ्घ संस्थाले इटहरी क्षेत्रमा जडान गरिदिएको सीसी क्यामेरा बिग्रिएर लथालिङ्ग बनेको वर्ष दिन बितिसक्दा पनि सम्बन्धित निकायले पुनः मर्मतका लागि कुनै ध्यान नदिँदा इटहरी क्षेत्रको मुख्य राजमार्ग तथा चोकहरूमा राखिएका सीसी क्यामेरा विगत २ वर्षदेखि बिग्रिएर थन्किएपछि नयाँ क्यामेरा पुनः जडान भएको उद्योग वाणिज्य सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले बताए ।

व्यापारी , व्यवसायीले प्रहरीको सुरक्षा व्यवस्था र व्यवसायिक हित एवम् बढदो आपराधिक घटना न्यूनीकरणका लागि जडान गरिदिएको सीसी क्यामेरा अहिले हात्तीको देखाउने दारा सरह बन्दै आएको सर्वसाधारणको तर्क छ ।

ब्लाष्टखबरबाट साभार

तपाईको प्रतिक्रिया