Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

बेइजिङ, २ माघ । चीनले पहिलो पटक चन्द्रमामा बिरूवा उमारेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार गत जनवरी ३मा चन्द्रमाको छेउमा अवतरण भएको अन्तरिक्ष यान चांगअ-४ ले लिएको कपासको बिउ चन्द्रमामा टुसाएको हो।

मंगलबार चाइना नेशनल स्पेश एडमिनिस्ट्रेसनले नियन्त्रित वातावरणभित्र एउटा शिशाको भाँडाभित्र बिउ टुसाएको तस्बिर सार्वजनिक गरेको छ।

चिनियाँ अन्तरिक्ष यानले कपास र आलुको बीउसहित माटो, मर्चा र एकप्रकारको झिंगाको अण्डा लिएर गएको थियो।

यो परीक्षणका प्रमुख प्राध्यापक लिउ हाङलोङले अन्तरिक्षमा लामो समय बाँच्न सम्भव छ कि छैन भन्ने थाहा पाउन बिउलाई चन्द्रमामा लगेर उमारेको बताए।

‘हामीले भविष्यमा अन्तरिक्षमा बाँच्न सकिन्छ कि सकिन्न भनेर यो प्रयोग गरेका हौं। कम गुरूत्वाकर्षणमा यो बिरूवा टुसाएको छ यसको हुर्काइले हामीलाई भविष्यका लागि स्पेश बेस बनाउने बाटो खोल्नेछ,’ प्राध्यापक लिउले भने।

उनले बिरूवा टुसाएको भाँडो सानो भए पनि यसभित्र २५ डिग्री सेल्सियस तापक्रम कायम राख्ने प्रणाली जोडिएको बताए। अब टुसाएको बिरुवाले भाँडाभित्र एक सूक्ष्म जैविक मण्डल सिर्जना गर्नेछ र त्यस्तो कृत्रिम वातावरणमा आफैं हुर्कनेछ।

एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments