Online Bichar
सोमबार, आश्विन २६, २०८३ | Monday, October 12, 2026

काठमाडौं, ११ चैत २०८१ । आगामी नयाँ शैक्षिक सत्र (२०८२) को लागि चाहिने आवश्यक सबै नयाँ पाठ्यपुस्तक छपाइको काम सकिएको छ। सरकारको स्वामित्वमा भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक छपाइको काम सकिएको जनाएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्राविधिक निर्देशनालयका उपनिर्देशक तिलबहादुर अधिकारीका अनुसार नयाँ शैक्षिक सत्रलाई चाहिने १ करोड ७० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने अनुमति जनक शिक्षाले पाएको थियो। यी सबै पुस्तक छपाइको काम सकिएको उनले जानकारी दिए। ‘नयाँ शैक्षिक सत्रको लागि १ करोड ७० लाख थान पुस्तक छाप्नुपर्ने थियो,’उनले थाहाखबरसँग भने,‘हामीले समयमै सबै छापिसक्यो,छिटपुटबाहेक अब छाप्नुपर्ने पुस्तक छैन,’उनले भने।

उनले गत फागुन १९ गते नै १ करोड ५५ लाख थान पुस्तक छपाइ सकिसकेको र बाँकी १५ लाख थान छपाइ फागुन भित्र नै छपाइ सकाउने गरि जनक शिक्षा अघि बढेको जानकारी दिएका थिए। त्यहीअनुसार जनक शिक्षाले यस वर्ष पनि समयमै पुस्तक छपाई सकेको छ।

जनक शिक्षाले २०८० सालको शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने अनुमति पाएको थियो। यस्तै, कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षाले गत वर्ष ९२०८१० का लागि १ करोड ७४ लाख थान छाप्ने अनुमति पाएको थियो। छापिएका ती नयाँ पुस्तक चैत १५ गतेदेखि बिक्री वितरणको काम थालेको थियो। यस वर्ष पनि समयमै पुस्तक वितरण थाल्ने जनक शिक्षाको योजना छ।

तोकियो पुस्तकको मूल्य सूची

पाठ्यक्रम विकास केन्द्रले २०८२ को शैक्षिक सत्रको लागि छापिएको नयाँ ऐच्छिक र अनुवादित पाठ्यपुस्तकहरूको मूल्य तोकिसकेको छ। विकास केन्द्रले तोकेको मूल्यसूचीअनुसार ५० रूपैँयादेखि २५७ रूपैयाँसम्म पुस्तकको मूल्य तोकिएको छ।

कक्षा १० को नागरिक शास्त्रको ५० रूपैँया ४ पैसा तोकिएको छ भने कक्षा १० को साइन्स एण्ट टेक्नोलोजीको २ सय ५७ रूपैया तोकिएको छ। कक्षा ९ को अर्थशास्त्र १३९ रूपैयाँ ७ पैसा,स्वास्थ्य तथा शारीरिक शिक्षाको ७७ रूपैँया ७६ पैसा,शिक्षाको ५७ रूपैँया ६ रूपैयाँ लगायत विषयहरूको मूल्य तोकिएको छ।

‘समयमै विद्यार्थीको हातमा पुस्तक पुग्छ’

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले यो वर्षको नयाँ शैक्षिक सत्रमा पनि समयमै सम्बन्धित ठाउँमा पुस्तक पुग्ने दावी गरे। ‘पुस्तक छपाइको काम सकिएको छ,’उनले भने,‘ छापिसकेको यी पुस्तक हुम्ला जिल्लामा पुगिसकेको छ, अब अन्य जिल्लाहरूमा पनि समयमै पुस्तक पुग्छ, नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीहरूको हातमा भर्नासँगै पुस्तक पुग्छ।’ उनका अनुसार विकट जिल्लाहरूमा भने पहिलो प्राथमिकता राखेर पुस्तक पठाइएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्राविधिक निर्देशनालयका उपनिर्देशक अधिकारीले पनि समयमै विद्यार्थीहरूको हातहातमा पुस्तक पुग्ने बताए। ‘हामीले पुस्तक छाप्दै सम्बन्धित ठाउँमा पठाउने गरेका छौँ,त्यसैले पुस्तक पुग्दैन भन्ने कुनै शंका नै गर्नुपर्दैन,समयमा सबै ठाउँमा पुस्तक पुग्छ,यसका लागि कुनै समस्या हुने छैन,’उनले भने।

उनका अनुसार यहाँ पुस्तक छापेपछि जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ (कोशी) कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाउने गरिएको छ।

यस्तै, कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाउने गरिएको छ र त्यहाँबाट वितरण गरिनेछ। दुई वर्ष अघिसम्म वर्षेनी समयमा नयाँ पाठ्यपुस्तक छाप्न ढिलाइ र सम्बन्धित ठाउँमा नपुग्ने समस्या दोहरिइरहेको थियो। त्यही कारण सरकारको चर्को आलोचना हुन्थ्यो। तर २०८० को शैक्षिक सत्रदेखि सम्बन्धित ठाउँमा समयमै पुस्तक पुग्न थालेको छ।

यतिखेर देशभरका सामुदायिक तथा निजी विद्यालयहरूमा वार्षिक अर्थात् अन्तिम परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा सकिए लगत्तै परीक्षा नतिजा प्रकाशनको कार्य हुन्छ। सरकारले वर्षेनी वैशाख १ बाट नै झण्डै एक महिना नयाँ भर्ना अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि वैशाखबाट भर्ना अभियान थाल्ने सरकारको तयारी छ।

 

तपाईको प्रतिक्रिया