Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, ३० पुस ।  विराटनगर महानगरपालिका क्षेत्रमा सहकारीको आडमा हुण्डीको कारोबार हुने गरेको खुलेको छ । मोरङ प्रहरीले हुण्डीको कारोबार गर्ने विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष राजेश हेडा, व्यवस्थापक दीपककुमार कर्णसहित तीन जनालाई आइतबार पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

प्रहरीले सहकारी अध्यक्ष विराटनगर–७ का हेडासहित व्यवस्थापक विराटनगर–१२ का कर्ण, विराटनगरका ११ का सुमित साहलाई पक्राउ गरेको छ ।

पैसाको स्रोत खुलाउन नसकेपछि अध्यक्ष र व्यवस्थापकसहित ६९ लाख ५७ हजार ६ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

‘बरामद गरेको अवैध पैसा हुण्डी कारोबार गर्ने गरेको स्वयम् सहकारीका अध्यक्ष हेडाले स्वीकारेका छन्,’ एसपी केसीले भने, ‘बरामद भएको नेपाली रुपैयाँ सम्बन्धित ठाउँमा लैजाने तयारी गर्दा जफत गरेको हो ।’

पक्राउ परेकामध्ये हुण्डीको कारोबार गर्ने मुख्य व्यक्ति राजेश रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘सहकारीको आड लिएर हुण्डीको कारोबार गरेको देखियो,’ केसीले भने, ‘यहाँ अझै हुण्डीको ठूलो सञ्जाल रहेको देखिन्छ । यस्तो अवैध गतिविधि गर्न प्रहरी सक्रिय लागि परेको छ ।’ स्रोत खुलाउन नसेको अवैध रुपैयाँ कहाँ लैजान लागेको हो त्यो भने हालसम्म खुलेको छैन । ‘हामी अनुसन्धानको क्रममा छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने ।

प्रहरीको अनुसार पक्राउ परेका सुमित साहको साथबाट ९ लाख ५० रुपैयाँ बरामद भएको थियो । डिएसपी श्रेष्ठले भने, ‘साहले सहकारीको अध्यक्षको निर्देशनअनुसार हुण्डीको पैसाँ सम्बन्धित ठाउँमा पुर्याउन अह्राएको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ ।’ साह सहकारीको कर्मचारीसमेत रहेको बताइएको छ ।

साहले नै हुण्डीको पैसा हेडाले भनेको ठाउँमा पुर्याउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई आइतबारनै अदालतमा म्याद थप गरी अनुसन्धान र आवश्यक कारबाहीको लागि इटहरीस्थित राजस्व अनुसन्धान विभाग पठाएको डिएसपी श्रेष्ठले बताए ।

यसअघि मोरङ प्रहरीले भारतबाट विराटनगरतर्फ हुण्डीको पैसा ल्याउँदै गर्दा ३९ लाखसहित दुई जनालाई पक्राउ गरेको थियो । आइतबार पक्राउ परेको र केही दिन अगाडि पक्राउ भएको व्यक्तिसँगको ‘कनेक्सन’ हालसम्म प्रहरीले फेला पार्न सकेको छैन ।

एक लाख पठाउँदा ५ हजार आम्दानी
अवैध धन्दा हुण्डीको कारोबार गर्ने गिरोहहरूले १ लाख रुपैयाँ पठाउँदा ३ हजारदेखी ५ हजार रुपैयाँसम्म आम्दानी लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मनी ट्रान्सफरबाट १ लाखभन्दा बढी पठाउन नपाउने र बैङ्कबाट १० लाखभन्दा बढी पैसा पठाउँदा पैसाको स्रोत देखाउनुपर्ने भएकाले अवैध धन्दा गर्नेहरू हुण्डीमार्फत् कारोबार गर्ने गरेका छन् ।

हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउन नपर्ने राजस्व समेत छली गर्ने भएकोले विराटनगरमा ठूलो सङ्ख्यामा हुण्डीको कारोबार हुने गरेको प्रहरीको दाबी छ ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया