Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

धरान, १३ माघ २०८१ । बाल यौन दुरुपयोग मुद्दामा कृषि विज्ञ मदन राई दोषी ठहर भएका छन्। दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका-२ स्थित सुभद्रा मदन फाउन्डेसनद्वारा सञ्चालित जनजागृति माविका नाबालिकालाई यौन दुर्व्यवहार गरेको मुद्दामा जिल्ला अदालत खोटाङले राईलाई दोषी ठहर गरेको हो।

उक्त विद्यालयमा अध्यनरत छात्राहरूलाई राईले यौन दुर्व्यवहार गरेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो। विद्यालयमा अध्ययनरत एक छात्राले मदन राईविरुद्द बाल यौन दुरुपयोग गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत उक्त मुद्दा जिल्ला अदालत खोटाङमा दर्ता भएको थियो।

बाल यौन दुर्व्यवहार मुद्दामा जिल्ला अदालत खोटाङका न्यायाधीश नारायण दाहालको इजलासले राईलाई दोषी ठहर गरेको अदालतका श्रेस्तेदार सिताराम खडकाले बताए। अदालतको आदेशले दोषी ठहर भएका राई अन्तत जेल जाने भएका छन्।

यसअघि पनि पक्राउ परेका राईलाई अगाडिका न्यायाधीशले धरौटीमा छाड्ने आदेश दिएका थिए। अदालतले राईलाई दोषी ठहर गरे पनि कैद सजायको फैसला भने गरेको छैन। यो मुद्दाको कैद सजायको फैसला भने माघ २५ गएको इजलासले तोक्ने श्रेस्तेदार खडकाले बताए।

 

तपाईको प्रतिक्रिया