Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

विराटनगर, २५ पुस । ‘हजुरको छोरा उत्सव विद्यालयमा बेहोस भए । चाँडै गरेर आउनुहोस्,’ दिलबहादुर पौडेलले फोन उठाएर हेलो भन्नासाथ फोन गर्नेको आवाज सुनियो ।
‘म पुराणमा कर्ता भई बसेको छु । निकै कठिन अवस्था हो र ? आउनैपर्छ ?’ जवाफसँगै प्रश्न गरे दिलबहादुरले ।

‘आउनुस् केस अलि सिरियस जस्तो छ । हामी उत्सवलाई कञ्चनबारीको हाम्रो अस्पताल लैजादैंछौं,’ फोनमा बोल्नेले भने ।

बम बम बम
‘हुन्छ लैजानुस् म पनि आउँछु ,’ पौडेलले जवाफ दिए । पौडेल मंगलबार दिउँसो आफ्नो छोरो पढ्ने इडेन इङ्लिस स्कुलका प्रिन्सिपलले गरेको फोनको जवाफ दिइरहँदा घरमा भजन किर्तन र धार्मिक माहोलबीच विराटनगरतर्फ हान्निए । फेरि फोन बज्यो । उठाए । आवाज उही थियो । ‘यहाँ उपचार सम्भव छैन भने अब कता लैजाऔं ?’ पौडेलले झटपट भने, ‘विराट नर्सिङ होम लैजानुहोस् म पनि त्यतै आउँदैछु ।’

मोरङको ग्रामथान २ झोराहाटका दिलबहादुर पौडेल मंगलबार आमाको बर्खान्त लगत्तै घरमा लगाइएको सप्ताह पुराणको रमझम थिए । बिहानको आरती र कथा वाचनपछि दिउँसोको विश्राम भर्खरै सकिएको थियो । उनी दोस्रो सत्रको पुराणको कर्मका लागि तयारी गर्दै थिए । छोरो पढ्ने इडेन स्कुलका प्रिन्सिपल सिएम बस्नेतको फोन आइहाल्यो । व्यासासनबाट पण्डितजीले कथाको अंश सुरु गर्नै लाग्दा पौडेल भने हतारिँदै मोटरसाइकलमा विराटनगरतर्फ हान्निए । सोझै विराट नर्सिङ होम पुगे । उत्सवका आँखा खुलै थिए तर धड्कन बन्द भइसकेको थियो । चिकित्सकले मृत घोषित गरे । पौडेल थुचुक्क भुइँमा बसे । आवाज बन्द भयो । पत्याउनै सकेनन् । तर, ‘हुने हार दैव नटार’ भने झैं पौडेल परिवारलाई विपद् र पीडाको पहाडले छोपिसकेको थियो । उनले आफूलाई सम्हाल्न सकेनन् । एक्लो सन्तानको वियोगको पीडामा उनी जलिरहेका थिए । नेपाल आयल निगममा पौडेल कार्यालय सहयोगीको रुपमा कार्यरत छन् ।

प्रिन्सिपल बस्नेतका अनुसार १५ वर्षीया उत्सव कक्षा १० का अब्बल छात्र थिए । मंगलबार दिउँसो १ बजेको टर्मिनल परीक्षाको लागि १२ः५५ मा हतारिंदै विद्यालय आइपुगेका थिए । ‘उत्सव साइकलबाट ओलिएर सोझै परीक्षा हुने कक्षातर्फ दौडिएको मैले देखेँ’, बस्नेतले भने,‘त्यति टाढाबाट साइकलमै आयौ भनेर सोधेँ । उनले होइन ठूलाबाबाको घरबाट आएको भनेर कक्षातर्फ लागे ।’

उत्सव परीक्षा दिन हतारिएर कक्षातर्फ लागेको र ब्याग भित्र लैजान नपाइने भएकोले निहुरिएर भुइँमा राख्न खोज्दा थुचुक्क बसेपछि बेहोस भएको बस्नेतले बताए । सुनाए,‘त्यसपछि उनको बुबालाई फोन गर्दै अस्पताल लगि हाल्यौं तर चिकित्सकले मृत घोषित गरे ।’ पोस्टमार्टमका क्रममा उनको मुटु अस्वभाविक रुपमा ठूलो देखिएको र पहिलेदेखि नै समस्या भएपनि थाहा नहुँदा घटना हुन पुगेको बताएको बस्नेतले जानकारी दिए ।

अघिल्लो दिन मण्डप पूजा र कलशयात्रामा गाउँभरिका महिला सहभागी भएको घर उत्सवको शव पुग्दा एकाएक आँसुको सागरमा डुब्यो । उत्सवको शरीर चिसो भइसकेको थियो । त्यसमा ज्यान थिएन् । तर, उनका आँखा खुलै थिए । प्राण पखेररु अझै छ कि जस्तो लाग्ने गरी । पुराणमा सहभागी भएकाहरुको मन थामिएन । सबै भक्कानिएर रोइकराई गर्दै थिए । छिमेकी विनोद शर्माले भने,‘यस्तो बज्रपात कसैलाई नपरोस् । आमाको बर्खान्त नसकिदै भएको एउटा छोरो पनि कालले टिपेर लग्यो ।’

बाह्रखरी

तपाईको प्रतिक्रिया