Online Bichar
शनिबार, माघ ०५, २०८१ | Saturday, January 18, 2025

इलाम, १२ पुष २०८१ । आलु उत्पादन बढाउनुका साथै कृषिमार्फत रोजगारी सिर्जना गर्ने र आन्तरिक उत्पादनबाट आत्मनिर्भर हुने उद्देश्यले इलामको चुलाचुली गाउँपालिकामा सामूहिक आलु खेती थालिएको छ । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी आन्तरिक उत्पादनमा जोड दिँदै सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारी मार्फत आलुको व्यावसायिक खेती थालिएको हो ।

आर्थिक वर्ष २०८१–८२ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक आलु खेती गरिएको हो । जसमा चुलाचुली कृषि सहकारीको लागत साझेदारीमा तीन बिगाहा जमिनमा खुमल रातो जातको आलु रोपिएको छ । पालिकाका तीन वडामा पकेट ब्लक अन्तर्गत एक सय ४२ कट्ठामा दुई वटा सहकारी र एउटा समूहमार्फत आलु खेती सञ्चालन भएको चुलाचुली गाउँपालिका कृषि शाखा प्रमुख सुवास दहालले जानकारी दिए । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पु¥याउनका साथै सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत आलुको व्यावसायिक खेती परियोजना सञ्चालन गरिएको दहालको भनाई छ ।

५० प्रतिशत लागत साझेदारीमा सञ्चालन भएको आलु पकेट कार्यक्रम अन्तर्गत वडा न दुईमा समूह मार्फत १५ कट्ठामा लगाएको आलु उम्री सकेको छ, उनले भने, ‘वडा न तीनमा सहकारी मार्फत सञ्चालन गरिएको जमिनमा आलु खेती लगाइ सकिएको र वडा न चारमा पनि सहकारी मार्फत नै खेतीको लागी माटो बनाउने काम भइसकेको छ ।’ परियोजना मार्फत कृषक समूह र सहकारीलाई आलुको ड्याङ बनाउने, उकेरा लगाउने, सिँचाइमा प्रयोग हुने उपकरण खरिदमा समेत ५० प्रतिशत लागत साझेदारी रहेको पालिकाले जनाएको छ ।

कृषि प्राविधिकहरू खेतबारीमै पुगेर किसानहरूलाई बिउ तथा मलको छनोट गर्न र उन्नत तरिकाले आलु लगाउन सिकाउने गरेको कारण पनि उत्पादन राम्रो हुनेमा समूह र सहकारी ढुक्क छन् । चुलाचुली गाउँपालिका कृषि उत्पादनका लागि उर्वर भूमि भएको र पालिकालाई कृषिबाट आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्यले पालिकामा यस अघि सिमल तरुल खेती र प्रशोधनमा सफल भएसँगै अन्य खेती तर्फ पनि प्रोत्साहन गर्न थालेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल कुमार लिम्बुले बताए ।

यहाँ उत्पादन भएको कृषि जन्य वस्तु तराई पुग्ने भएको कारण पनि यहाँ भएको उत्पादनलाई बजार पु¥याउन पनि सहज हुने भएकोले पालिकाले कृषिमा व्यावसायिक बनाउन लगानी गरिरहेको उनको भनाई छ । यहाँबाट तराईको बजार नजिक भएको कारण पनि लसुन, टमाटर खेती र मासुका लागि कुखुरा, खसी, बङ्गुर पालनको पनि निकै सम्भावना रहेको लिम्बुले बताए । व्यवसाय गर्न चाहानेहरुले जग्गा लिजमा लिएर खेली गर्न पनि सस्तो पर्ने र अफ सिजनमा पनि मकै, रायो तरकारी जस्ता तरकारी खेतीको समेत सम्भावना रहेको पाइन्छ ।

 

तपाईको प्रतिक्रिया