Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

बागचौर, १८ पुस । बागचौर नगरपालिकाले नगर क्षेत्रका सुत्केरी भैँसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थालेको छ । नगर क्षेत्रका सुत्केरी भैँसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थालिएको मेयर लोकमान बुढाथोकीले जानकारी दिए । १ पुसयता नौवटा सुत्केरी भैँसी तीन हजार रुपैयाँका दरले भत्ता पाएका छन् । भैँसीलाई भत्ता दिन नगरपालिकाले चालू आर्थिक वर्षमा साढे चार लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘व्यावसायिक भैँसीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न सुत्केरी भैँसीलाई भत्ता दिने व्यवस्था गरेका हौँ,’ मेयर बुढाथोकीले भने, ‘यसले भैँसीपालक किसान उत्साहित हुने र दूध उत्पादन बढ्ने अपेक्षा गरेका छौँ ।’ सुत्केरी भैँसीलाई भत्ता दिन मेयर बुढाथोकी गोठमै पुगेपछि किसान दंग परेका छन् । बागचौर–९ का भैँसीपालक किसान वेदप्रसाद डाँगीले भने, ‘मेयर साब भत्ता लिएर गोठमै आउनुभयो । यसले हामीलाई भैँसी पाल्न प्रोत्साहन मिलेको छ ।’

पाडापाडीको जन्मदर्ता
नगरपालिकाले नयाँ जन्मिने पाडापाडीको जन्मदर्ताको तयारीसमेत गरेको छ । सुत्केरी भैँसीलाई भत्ता दिँदा नयाँ जन्मिएका पाडापाडीको जन्मदर्तासमेत गरिने डाँगीले जानकारी दिए । यसले भैँसीको तथ्यांक र व्यावसायिक पशुपालन, दुग्ध उत्पादन, पशु बिमालगायतका क्षेत्रमा काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । भैँसीको नस्ल सुधार गरेर दुग्ध उत्पादन बढाउन कृत्रिम गर्भाधानको व्यवस्थासमेत नगरपालिकाले गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

यस वर्ष डेढ सय भैँसीलाई भत्ता
नगरपालिकाले यस वर्ष डेढ सय भैँसीलाई भत्ता दिन पुग्ने गरी साढे चार लाख रुपैयाँ विनियोजन गरेको छ । किसानले भैँसी सुत्केरी भएको जानकारी गराएपछि सामान्य प्रक्रिया पुर्याएर भत्ता दिइने कार्यकारी अधिकृत भीष्मकुमार मल्लले जानकारी दिए । बागचौर नगरपालिकामा करिब पाँच सय भैँसी रहेका नगरपालिकाको पशुपंक्षी विकास शाखाका लोकेन्द्र डाँगीले बताए ।

तपाईको प्रतिक्रिया