Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौं, ९ कार्तिक २०८१ । तिहारमा चालमको सेलरोटीसँगै गहुँको आटा र मैदाबाट परिकार बनाउन उपभोक्ताले यसपटक महँगीको मार खेप्नुपर्ने भएको छ।

भारतबाट गहुँ भित्रिन नसक्दा नेपालमा आटाको भाउ ह्वात्तै बढेको छ। बजारमा गहुँको माग बढेपछि एक हप्ताअघि सरकारले भारतसँग दुई लाख मेट्रिक टन गहुँ आयात गर्न पहल गरिएको बताएको थियो। तर तिहारअघि भित्रने सम्भावना छैन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ९प्रवक्ता० बाबुराम अधिकारी पनि तिहारअघि गहुँ आइपुग्ने सम्भावना नदेखिएको बताउँछन्।

‘भारतसँग गहुँको कोटा माग गरी पत्राचार भएको छ, तर भारतले कोटा दिइसकेको छैन’, उनले भने, ‘तिहारअघि कोटा प्राप्त गरेर, आयातकर्ताले गहुँ ल्याउने, मिलले पिठो पिसेर उपभोक्तालाई दिन नभ्याइएला। तर ताकेता गरिरहेका छौँ। प्रक्रियामै रहेकाले तिहारलगत्तै भने गहुँ आउन सक्छ।’ भारतले खाद्य सुरक्षाको कारण देखाउँदै गहुँ निर्यातमा रोक लगाएका कारण कोटा माग गर्नुपरेको हो।

तर सरकारले पत्राचार मात्र गरेर सही ढंगले पहल नगरेकोले तिहारमा उपभोक्ता महँगीको मारमा पर्ने अवस्था आएको नेपाल फ्लोर मिल्स एसोसिएसनका उपाध्यक्ष दिनेशकुमार अग्रवालको आरोप छ।

खपतको आधा कम उत्पादन

नेपालमा खपतको करिब ४० प्रतिशत मात्र गहुँ उत्पादन हुन्छ। वर्षभरलाई लगभग १२ देखि १३ लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने भन्दै उपाध्यक्ष अग्रवाल त्यसको आधा उत्पादन मात्र मुलुकको हुने भएकाले भारतसँग निर्भर रहनुपरेको बताउँछन्।

नेपाल पाँच वर्षअघि भारतले गहुँ निर्यात गर्ने दोस्रो प्रमुख देश थियो। उसले जिटूजी (सरकार-सरकार) मार्फत पहल गरे गहुँ दिने भनेको छ तर सरकारले पर्याप्त पहल नगरेको अग्रवालको भनाइ छ। भारतले कोटा दिन बन्द गरेपछि उत्पादनकर्ताले सरकारलाई असार मसान्तदेखि नै गुहार्दै आएको उनले बताए। ‘तर सरकारले प्रक्रियामा रहेको, भारतलाई चिठी लेखेको जानकारी मात्र गराएको छ’, उनले भने, ‘चिठी लेखेर मात्र गहुँ आउँदैन। ठोस पहल गर्न जरुरी छ। तर ठिकसँग पहल गरिएको छैन।’

भाउ बढाउनु बाध्यता

आटाको मूल्य बढ्दै गएपछि मात्र सरकारले चासो देखाएको व्यवसायीको तर्क छ। नेपाली बजारमा गहुँको मूल्य दुई महिना अघिसम्म प्रतिकेजी ४५ देखि ४८ रुपैयाँ थियो। एकाएक भाउ बढेर ५५ रुपैयाँ प्रतिकेजी पुगेको छ।

यतिखेर मैदा खपत हुने सिजन शुरु भइरहेको छ। सरकारले चाडबाडको समयमा मैदाको भाउ नबढाउन फ्लोर मिल्सहरूलाई भनेको छ। तर व्यवसायीले गहुँको मूल्य धेरै परेकाले आटा-मैदाको भाउ बढाउनु बाध्यता भएको बताएका छन्।

‘तिहारदेखि नै आटा-मैदाको माग बढ्दै जान्छ। महँगोमा गहुँ किनेर भए पनि उत्पादन गरिरहेका छौँ। गहुँलाई धेरै पैसा हाल्नुपरेकाले मैदाको भाउ बढाउनुपरेको हो। लगानी नै महँगो छ भने हामी सस्तोमा मैदा कहाँबाट दिने रु’ अग्रवालले प्रश्न गरे।

मैदा व्यवसायीले गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गर्दै आएका छन्। ‘सरकार कर बढाइरहने अनि हामीले सस्तोमा दिनुपर्नेरु, के हामीलाई डुबाउने प्रयास गरिएको हो ?’ उनले प्रश्न गर्दै भने,‘सबै कुरा सरकारको पोलिसीमाथि निर्भर गर्छ।’

भारतले गहुँ नदिए के हुन्छ ?

फ्लोर मिल्सहरूसँग अबको डेढ महिनालाई पुग्ने मैदा, आटा, सुजी र चोकरका लागि कच्चा पदार्थ मौज्दात छ। ‘जसरी पनि दुई महिनासम्म जनतालाई खुवाउनसक्ने स्टक हामीसँग छ’, एसोसिएसनका उपाध्यक्ष अग्रवालले भने, ‘यहाँको उत्पादन आउन ६ महिना लाग्छ। बिचको चार महिना कसरी चल्छ थाहा छैन। सरकारले पहल गरे सहज होला।’

सरकारले तिहारसम्म जसरी पनि गहुँ ल्याउन परमिटको बाटो बनाइदिने भने पनि कुनै पनि हालतमा तिहारअघि गहुँ आउन सम्भव नरहेको उनले बताए। यद्यपि भएको स्टकबाट मैदा, आटाको अभाव नहुने अग्रवाल बताउँछन्। तर उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने उनले सुनाए। ‘तिहारसम्म आटा-मैदाका लागि केही अप्ठेरो हुँदैन तर यो पटक सस्तो नपाउने पक्का छ’, उनले भने।

अहिलेको बजारमा मैदाको भाउ होलसेलमा ७४ देखि ७६ रुपैयाँ प्रतिकिलो छ। खुद्रामा ८५ देखि ९० रुपैयाँ पर्न जान्छ। आटा यसको हाराहारीमा एक किलोमा पाँच रुपैयाँ कम पर्ने उनले बताए।

गहुँ आयात नहुँदा मैदा उद्योग मारमा परेका र त्यसको प्रभाव चाउचाउ, मम, बिस्कुट, पाउरोटी उद्योगमा परेको छ। तर बजारमा तत्कालै गहुँ अभाव हुनुपर्ने कुनै कारण नरहेको आपूर्ति मन्त्रालयका प्रवक्ता अधिकारी बताउँछन्।

‘चैत वैशाखमा पाकेको गहुँले अझै केही समय धान्छ, तर गैरजिम्मेवार केही व्यवसायीले गहुँको अभाव हुन्छ भनेर सञ्चय गरी कृत्रिम अभाव गर्दा बजारमा कमी देखिएको हुनसक्छ’, उनले भने, ‘वाणिज्य विभागले अनुगमन गर्दैछ। कतै गोदाममा गहुँको ठूलो परिमाण भेटिए कारवाही गर्छौँ।’

फ्लोर मिल्सहरूसँग चाडपर्व अगाडि आटा-मैदाको मूल्य नबढाउन भनिएको प्रवक्ता अधिकारीले दोहोर्‍याए।

 

तपाईको प्रतिक्रिया