Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

काठमाडौं, १२ असोज २०८१ । दसैंका लागि लक्षित गरी शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो।

घटस्थापना आउन पाँच दिन बाँकी रहँदा अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ। अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको थियो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको र सर्वसाधारणहरुले झरीका बाबजुत पनि उत्साहका साथ टिकट काटेको बताए। उनले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण यात्रुलाई मर्का परेकाले अवरुद्ध सडक सूचारुका साथै ममर्त गर्न सरकारले ढिलाई गर्न नहुने बताए।

हरेक वर्ष दसैं मनाउनका लागि राजधानी काठमाडौंबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्। सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्ने बताइएको छ।

 

तपाईको प्रतिक्रिया