Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

झापा, ८ असोज २०८१ । झापाका एक वडाध्यक्ष सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन्। झापाको बुद्धशान्ति गाउँपालिका २ नम्बर वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका हुन्।

सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष ओलीलाई विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ।

आफूहरूको स्ट्रिङ अपरेशन चलाएर वडाध्यक्ष ओलीलाई बिर्तामोडस्थित हनुमान कम्प्लेक्स बाहिरबाट मंगलबार दिउँसो करिब १ बजे घुस रकमसहित पक्राउ गरेको विप्लव माओवादीका नेता सुमनसिंह पौडेलले जानकारी दिए।

पक्राउ परेका ओलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान इटहरीको टोली आउन लागेको उनले बताए।

घटना विवरण अनुसार भारतीय नागरिक अमरनाथ चौहानले बुद्धशान्ति गाउँपालिकामा आफ्नो व्यवसाय सञ्चालनका लागि स्थानीय चतुर्भुज घिमिरेसँग सहकार्य गरेका थिए।

चौहानले बुद्धशान्तिमा जग्गा खरिदका लागि घिमिरेलाई भारतीय रुपैयाँ १४ लाख ५० हजार अर्थात् नेपाली रुपैयाँ २३ लाख २० हजार दिएका थिए। सोही रकम बमोजिम घिमिरेले बुद्धशान्ति ५ मा जग्गा खरिद गरेका थिए। पछि घिमिरेले भारतीय नागरिक भएकोले चौहानलाई धोका दिएर जग्गामा आफ्नो नाममा हड्पी हाले। चौहान पीडित भएपछि न्यायका लागि बुद्धशान्ति २ नम्बर वडा कार्यालय पुगे।

वडा कार्यालयको मेलमिलाप समितिले दुवै पक्षलाई बोलाएर रकम फिर्ता वा जग्गा नामसारी गरिदिने सर्तमा लिखित कागज गराएका थिए। सो कागज वडाध्यक्ष डिल्लीप्रसाद घिमिरेकै रोहबरमा २०८० साल चैत १ गते गराइएको थियो। कागजमा भनिएको छ, चौहानले घिमिरेलाई दिएको २३ लाख २० हजार रकममध्ये घिमिरेले २ लाख २७ हजार ३ सय रुपैयाँ खर्च भएको बताएकोले बाँकी रकम २० लाख ९२ हजार ७ सय रुपैयाँ २०८१ भदौ मसान्तभित्र वडा कार्यालयको रोहबरमा चौहानलाई उपलब्ध गराउने वा खरिद गरिएको जग्गा चौहानको विश्वासिलो व्यक्तिको नाममा नामसारी गरिदिने निर्णय भएको पत्रमा उल्लेख गरिएको छ।

सोही निर्णय बमोजिम घिमिरेले चौहानलाई रकम फिर्ता गर्ने भएपछि वडाध्यक्ष ओलीले पीडित चौहानसँग रकमको बार्गेनिङ गर्न थालेका थिए। रकम उपलब्ध गराइदिने सर्तमा वडाध्यक्ष ओलीले चौहानसँग एक लाख भारु मागेका थिए। चौहानले त्यत्रो रकम दिन नसक्ने भनेपछि वडाध्यक्ष ओलीले उल्टै उनलाई धाकधम्की दिँदै आइरहेका थिए।

आफू पीडित भएकोले ५० हजार भारु मात्र दिन सक्ने भनेपछि अनन्त वडाध्यक्ष ओली उनका कुरामा सहमत भए। तर, चौहान आफू पीडित भएको कुरा विप्लव माओवादीका कार्यकर्तालाई भेटेर सुनाइसकेका थिए। विप्लव माओवादी कार्यकर्ताहरूले नै चौहानलाई बोलाएर रकम दिन लगाएर वडाध्यक्ष ओलीलाई घुससहित पक्राउ गरिएको विप्लव माओवादीका झापा जिल्ला सचिव सञ्जय राईले जानकारी दिए।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया