Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

बनियानी, १३ पुस । झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गर्नुभएको छ ।

जग्गा भाडामा लिएर उखु खेती शुरु गर्नुभएका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गर्नुभएको हो । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भन्नुभयो, “ऋण गरेरै भए पनि मेशिन किनेर उखुबाट सख्खर बनाउन थालेको हुँ ।” भारतबाट कालीगढ ल्याएर सख्खर बनाउने उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । अर्काको मेशिन प्रयोग गरेर सख्खर उत्पादन शुरु गर्नुभएका राजवंशीले अहिले आफैले खरीद गर्नुभएको छ । “अर्काको भाडामा लिएँ, खर्चले धान्न नसकेपछि ऋण गरेरै भए पनि आफैँ मेशिन खरीद गरेर उद्योग चलाउँदै छु”, उहाँले भन्नुभयो, “उखु पेल्ने मेशिनबाट दैनिक २६५ लिटर उखुको रस निकाल्न सकिन्छ ।”

हाल उहाँले दैनिक सय केजी सख्खर उत्पादन गर्दै आउनुभएको छ । कृषकसँगै उद्यमी बन्दै गर्नुभएका राजवंशीले दैनिक ज्यालादारीमा पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “उद्योगलाई राम्रोसँग चलाउन सके झापामा उखु बिक्री नहुने समस्या आउन दिन्नँ ।” प्रतिकेजी रु एक सयमा सख्खर बिक्री गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “भारतबाट आयात हुने सख्खरका कारण हामी मारमा परेका छौँ ।”

राजवंशीलाई सहयोग गर्दै आउनुभएकी उहाँकी श्रीमती उर्मिला राजवंशीले उखुबाट सख्खर बनाउन थालेसँगै केही आशा पलाएको बताउनुभयो । “जग्गा भाडामा लिएर खेती शुरु ग¥यौँ”, उहाँले भन्नुभयो, “उखु बारीमै सुकेर गयो, १० लाख ऋणमा प¥यौँ ।” तर आफूहरुले हिम्मत नहारेको बताउँदै उहाँले थप ऋण गरेर खेतीसँगै सख्खर बनाउन थालेको बताउनुभयो ।

अर्जुनधारा नगरपालिकाका कृषि शाखा अधिकृत शालीकराम भट्टराईले अर्जुनधारा–५ व्यावसायिक उखु उत्पादन हुने पूर्वाञ्चलमै पहिलो र राम्रो ठाउँ भएको बताउनुभयो । उहाँले यहाँका करीब १३५ कृषकले ७२ हेक्टरमा उखु खेती गरिरहेको बताउनुभयो । अर्जुनधारामा दुई कट्ठादेखि पाँच बिघा क्षेत्रफलमा उखु खेती गरिरहेका छन् ।

“अर्जुनधाराको ५ नं वडासँगै ६, ८ र ९ वडामा पनि कृषकले आंशिक रुपमा उखु खेती गरिरहनुभएको छ”, उहाँले भन्नभुयो, “गत वर्ष धान दिवसका अवसरमा एक कृषकलाई रु पाँच हजारसहित पुरस्कृत पनि गरेका थियौँ ।” अर्जुनधारासँगै झापाको दमक, मेचीनगर, कमल गाउँपालिकामासमेत उखु खेती हुँदै आएको छ । जिल्लाभर ११५ हेक्टरमा उखु खेती गरिँदै आएको अधिकृत भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments