Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौँ, १० भदौ २०८१ । डेंगु र हैजा फैलिएर विरामी थपिइरहेका वेला यस वर्ष स्क्रब टाइफसका विरामीको संख्या पनि बढ्दै गएको छ। विरामी संख्यालाई आधार बनाउने हो भने डेंगुकै हाराहारीमा स्क्रब टाइफस पनि देशमा फैलँदै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार हालसम्म यस वर्ष स्क्रब टाइफसका विरामीको संख्या ३ हजार ५३६ जना पुगिसकेको छ।

इडिसिडीको किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार यो वर्ष हालसम्म चितवन, मकवानपुर, धादिङलगायत जिल्लाहरुमा स्क्रब टाइफसका विरामीको संख्या बढी देखिएको छ।

‘गत जनवरी १ देखि हालसम्म यस वर्ष अहिलेसम्म ३ हजार ५३६ जना स्क्रब टाइफसका विरामी फेला परेका छन्‚’ डा दाहालले भने।

विशेषगरी वर्षात र बढी झाडी हुने समय असारदेखि असोजसम्म स्क्रब टाइफसका विरामी धेरै भेटिने गर्छन्। इडिसिडीका अनुसार असारदेखि असोजसम्म स्क्रब टाइफसका विरामी धेरै हुने हुँदा सतर्कता अपनाउनु पर्छ।

इडिसिडीको विवरणअनुसार अघिल्लो वर्ष स्क्रब टाइफसका विरामीको संख्या ५ हजार ३०७ जना थियो। आव ०७९र८० मा नेपालमा स्क्रब टाइफसका विरामीको संख्या २ हजारभन्दा थोरै थियो।

यसरी हेर्दा डेंगुकै हाराहारीमा अहिले स्क्रब टाइफस फैलिइरहेको छ।

के हो स्क्रब टाइफस?

डा। दाहालका अनुसार संक्रमित सूक्ष्म कीट माइटको टोकाइबाट जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले मानिसलाई सार्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ।

प्रायः खेतबारी, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा हुने यस्ता कीरामा यो जीवाणु भेटिने गर्छ। जसले गर्दा धेरैजसो खेतबारीमा काम गर्ने मानिसहरुमा स्क्रब टाइफस भएको पाइएको छ। सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको कानमा बस्ने गर्छ।

यसले गर्दा विशेषगरी असारदेखि असोजसम्म हाम्रो घरवरपर झाडी धेरै हुने, यो मौसममा मानिस खेतबारीमा धेरै काम गर्ने हुँदा स्क्रब टाइफस संक्रमण गराउन सक्ने मुसा पनि धेरै संख्यामा हुने र मानिसलाई टोक्ने जोखिम पनि धेरै हुने हुँदा यो समयमा स्क्रब टाइफसका विरामी बढ्ने गर्छ।

डा। दाहालले भने‚ ‘बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा रिकेटसिया सुसुगामुसी’जीवाणु भेटिने र यस्ता ठाउँमा काम गर्ने व्यक्तिलाई टोकेपछि यो संक्रमण हुने गर्छ।’

स्क्रब टाइफसका लक्षण

यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमण भएपछि घाँटी वरिपरिका ग्रन्थि सुन्निएर गिर्खा आउँछन्। यस्ता लक्षण देखा परेको पाँचौं दिनदेखि सातौं दिनमा घाँटी वरिपरि रातो बिमिरा देखिन्छ। बिमिरा विस्तारै पेट, हात, गोडा तथा अनुहारमा फैलन्छ।

समयमै यसको पहिचान गरेर उपचार नगरे शरीरका महत्त्वपूर्ण अंगमा असर गरेर मानिसको मृत्यु हुने गर्छ।

विशेषगरी सास फेर्न गाह्रो हुने, मिर्गौलाले काम गर्न छाड्ने र अन्त्यमा दिमागमा समेत असर गरेर विरामीको मृत्यु हुन सक्छ। कसैमा माथिका लक्षण देखापरे तुरुन्तै उपचार गराइहाल्नु पर्छ।​​ विशेषगरी रगतमा एन्टिजेन जाँच गरेपछि यो रोग लागे नलागेको पत्ता लगाउन सकिन्छ।

यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट पनि स्क्रब टाइफस लागे नलागेको थाहा पाउन सकिन्छ। रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट गरेपछि यसको पहिचान हुने उनले बताए।

स्क्रब टाइफस यस्तो संक्रमण हो जुन पहिचान भएपछि चाँडै सन्चो हुन्छ किनभने यसको उपचारमा एन्टिबायोटिक्स प्रयोग गरिन्छ र यसले यो संक्रमणलाई छिटो र सजिलै ठिक गराउँछ’‚ डा। दाहालले भने।

यसरी बच्न सकिन्छ स्क्रब टाइफसबाट

मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो। संक्रमणको भएको शंका लागेमा समयमै परीक्षण गराउनुपर्छ। खुला चौरमा सुत्नु हुँदैन।

यस्तै खेतबारीमा काम गर्न जाँदा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर पूरा ढाक्ने कपडा लगाउनु पर्छ र सम्भव भएसम्म जुत्ता लगाउनु पर्छ।

 

तपाईको प्रतिक्रिया