Online Bichar
सोमबार, भाद्र २४, २०८१ | Monday, September 9, 2024

काठमाडौं, २२ साउन २०८१ । मिडिया काउन्सिल विधेयक २०८० को नाम आमसञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमति जुटेको छ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको थियो। सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आमसञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो।

समिति सदस्यहरूले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर संशोधन प्रस्ताव समेत हालेका थिए। बैठकमा बोल्दै पनि सदस्यहरूले सो नामलाई नेपालीकरण गर्नुपर्नेमा जोड दिएका थिए।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताएका थिए। योसँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले घोषणा गरिन्।

अब परिवर्तित नामअनुरूप बाँकी प्रक्रिया अघि बढाउने उनले बताए। उनले विधेयकको नाम परिवर्तन गरेको नभई नेपाली भाषालाई जोगाउने उद्देश्यसहित नामको नेपालीकरण मात्रै गरिएको स्पष्ट पारे। विधेयकभित्रका विषयवस्तु भने परिवर्तन नहुने उनको भनाइ छ।

सभापति राईले भनिन्‚ ‘भाषा जोगाऔँ भन्ने हिसाबले नाम नेपालीकरण गरेको हो। आमसञ्चार परिषद् विधेयक नाम हुने भयो। त्यसभित्रको विषयवस्तु परिवर्तन हुँदैन। नाम आम सञ्चार परिषद् राख्ने कुरामा सहमति भयो।’

सभापति राईले उक्त विधेयक सञ्चारक्षेत्रलाई सरकारले नियन्त्रण गर्ने गरी आएको भन्ने सरोकारवालाको गुनासो रहेको भन्दै कुनै पनि हालतमा सञ्चारक्षेत्रलाई नियन्त्रण गर्न नदिइने बताइन्।

उनले सिफारिस समितिको सम्बन्धमा पनि समितिको असहमति रहेको भन्दै सो कुरा सञ्चारमन्त्रीलाई समेत जानकारी गराइएको बताइन्

 

तपाईको प्रतिक्रिया