Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १० पुस । अफ्रिकी मुलुकमा बेचिन लागिएका १३ जना नेपाली चेलीको भारतबाट उद्दार गरिएको छ ।

नेपाली जनसम्पर्क समिति, भारतले भारतको यहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरि काठमाडौं ल्याएको हो ।

भारतस्थित नेपाली दुतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्दारी गरी काठमाडौं ल्याउन आफूहरु सफल भएको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुलाई जानकारी दिए ।
समितिले पछिल्लो एक महिनामा मात्रै भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेकि ९१ जना चेलीहरुको उद्धार गरिएको दावी पनि गरेको छ ।

ती चेलीहरुलाई उद्धार गर्नेक्रममा दलालहरुसँग नक्कली कागजपत्र समेत बरामद गरिएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले नेपाल सरकारसँग उनीहरुलाई कडा कार्वाही गर्न पनि माग गरे ।
नक्कली कागजपत्र बनाएर उनीहरुले ती चेलीहरुलाई अफ्रिकाको डान्सबारमा काम लगाई दिने प्रलोभनमा बेच्न लगेको पनि अध्यक्ष पाण्डेले बताए ।
समितिले उद्धार गरी मंगलबार काठमाडौं ल्याइएका चेलीहरुको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्ने पनि स्पष्ट पारेको छ । समितिका अध्यक्ष पाण्डेले उद्धार गरिएका ती चेलीहरुको शिक्षा, बसोबासलगायतको व्यवस्था गर्न सरकारसँग पनि आग्रह गर्ने बताए ।
नेपाली चेलीहरु बेचबिखन कार्यमा संलग्न दलालहरुमाथि कार्वाही प्रक्रिया अघि बढाउन प्रहरीमा उजुरी दिने अध्यक्ष पाण्डेको तयारी छ ।

समितिले सो घटनामा संलग्न दोषीमाथि कार्वाही गराउने र उनीहरुको व्यवस्थापनका लागि सरकारसँग पनि कुरा राख्ने जनाएको छ

तपाईको प्रतिक्रिया