Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

बैतडी, १० पुस । जिल्लाको सिगास गाउँपालिका– ९, श्रीभावरका ६० वर्षीय जसु बोहराको गएराति हत्या भएको छ । उनकी २१ वर्षीया बुहारी लक्ष्मी घाइते भएकी छन् ।

मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको वयान लक्ष्मीले प्रहरीलाई दिएकी छिन् ।

टाउकोमा गम्भीर चोट लागे पनि उनलाई नियन्त्रणमा लिएर स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहर निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए ।

प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेट्टिएको छ । घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना गरिएको हो ।

लक्ष्मीले घटनापछि अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको खुलेको बोगटीले बताए । लक्ष्मीका श्रीमान् रोजगारीको शिलशिलामा भारतमा छन् ।

‘हत्याबारे केही खुल्न सकेको छैन,’ प्रहरी निरीक्षक बोगटीले भने ।

मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।
रासस

तपाईको प्रतिक्रिया