Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौं, ८ पुस । वैदेशिक रोजगारीका लागि कोरिया गएका नेपाली कामदारले नेपाल फर्किएपछि ‘टुरिष्ट गाइड’को काम पाउने भएका छन् । कोरियाबाट फर्किएका कामदारलाई समाजमा पुनस्र्थापना गर्न सघाउने गरी दक्षिण कोरिया सरकारले उनीहरुलाई टुरिष्ट गाइडको काम दिलाउन सघाउने भएको हो ।

तीन वर्षअघि सन् २०१५ मा गरिएको सर्वेक्षणले कोरियाबाट फर्किएका कामदारको पहिलो रोजाईमा टुरिष्ट गाइडको काम देखाएपछि कोरियाको मानव संशाधन विभागले यसमा नेपाल सरकारलाई सघाउने भएको हो ।

आउँदो बुधबार नेपाल र कोरियाबीच सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतामा हस्ताक्षर गर्न कोरिया मानव संशाधन विकास सेवा केन्द्र ९एचआरडी कोरिया० का सभापति किम दोङ्मान नेपाल आउनु हुने भएको छ ।

केन्द्रले विश्व ओक्टा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेशन एसोसिएसन फर नेपाल, कोरिया साउथ इष्ट पावर कम्पनी र युएम होङगील ह्युमन फाउण्डेसनसँग समन्वय गरी काम उपलब्ध गराउने जनाएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कले सन् २०१७ मा ३४ हजार ३ सय १ जना दक्षिण कोरियाका नागरिक नेपाल घुम्न आएको देखाएको छ । सन् २०१५ मा १८ हजार १ सय १२ आएकोमा हरेक वर्ष सङ्ख्या बढिरहेको र कोरियाबाट फर्किएका कामदारको रुची पनि टुरिष्ट गाइड भएकाले यस्तो सम्झौता गर्न लागिएको एचआरडी कोरियाले जनाएको छ ।

एचआरडी कोरियाले ४ वर्षभन्दा बढी कोरियामा बसेर त्यहाँको संस्कृति राम्ररी बुझेका र कोरियन भाषा परीक्षा इपीएस तेस्रो श्रेणीभन्दा माथिल्लो श्रेणी ल्याएकाहरुलाई कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेशन एसोसिएसन फर नेपालमा कामका लागि सिफारिस गर्नेछ ।

यही सिफारिसका आधारमा रोजगारी दिइने कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेशन एसोसिएसन फर नेपालका अध्यक्ष अमरबहादुर शाहीले बताउनुभयो । यस्तै फर्किएका कामदारलाई नेपालमै रहेका कोरियन कम्पनीहरुमा काम दिलाउन वल्र्ड ओक्टा नेपाल शाखाले मध्यस्थकर्ताको काम गर्ने भएको छ ।

कोरिया साउथ इष्ट पावर कम्पनीले फर्किएका कामदारहरुलाई दिगो रोजगारीमा लाग्न सक्ने गरी सघाउने छ । एचआरडी कोरियाले यो सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारलाई पनि अनुरोध गर्ने भएको छ । दक्षिण कोरियाको कम्पनीमा ९ वर्ष ८ महिना काम गरेपछि आ–आफ्नो देश फर्किनुपर्ने व्यवस्था छ ।

फर्किएका कामदारका लागि विभिन्न शिक्षा र प्रशिक्षण, स्वेच्छिक स्वदेश फिर्तीबारे जानकारीमुलक कार्यक्रम, स्वदेश फर्किएपछि सफल भएका कामदारलाई कोरियामा निमन्त्रणा गरी प्रेरणादायी भेला, कोरियन कम्पनीहरुसँग बैठक, कामदार र कम्पनीहरुको लागि मध्यस्थकर्ता कार्यक्रम गरिरहेको पनि एचआरडी कोरियाले जनाएको छ ।

उज्यालोअनलाइनबाट

तपाईको प्रतिक्रिया