Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

मोरङ, ८ पुस । विराटनगर आँखा अस्पताल रानीमा उपचारका लागि ६० प्रतिशत भारतीय नागरिक आउने गरेका छन् । भारतीय आँखाका बिरामीले अस्पताल बाह्रै महिना खचाखच भरिएको हुन्छ ।

सरकारले हालै एक सयसम्मको मात्रै भारतीय रूपैयाँ चल्ने व्यवस्था गरेपछि उपचारका लागि आउने बिरामीहरूलाई समस्या हुन थालेको छ ।

बिरामीहरूले बोकेर आएका भारतीय २ सयदेखि २ हजारसम्मका भारतीय रूपैयाँ अस्पताल प्रशासनले लिन नमानेपछि सीमाबर्ती भारतीय बजार जोबनीमा नोट साटनका लागि धाउन बाध्य छन् । भारतको पश्चिम बंगाल राज्य दक्षिण दिनाजपुरका अनिल नटो आँखाको उपचारका लागि विराटनगर आँखा अस्पताल आएका छन् । बिपन्न परिवारका उनी उपचारका लागि १ र २ सयको भारतीय रूपैयाँ लिएर उपचारका लागि आएको बताए ।

अस्पताल प्रशासनले २ सयको भारतीय रूपैयाँ नलिने भनेपछि उनी अलमलमा परे । ‘उपचारका लागि आउँदा २ सयका दरका भारू नोट लिएर आयौं,’ उनले भने, ‘२ सयको नोट कहाँ साट्ने समस्या भएको छ ।’ अस्पतालमा नोट नसाटिएपछि उनी सीमाबर्ती बजार जोगवनी गए ।

भारतको विहार राज्यको सहर्सा जिल्लाबाट आँखा उपचारका लागि आएका महेन्द्र पोद्दारले एक सयको नोट साट्न नेपालमा समस्या भएको बताए । ‘नेपाल सरकारलाई उपचार गराए बापत हामी पैसा बुझाउन आउँदा पनि एक सयसम्मको नोट मात्रै लिने भन्छन्,’ उनले भने, ‘हामी उपचारका लागि मोटो रकम बोकेर आउने गरेको र त्यसमा हजाररदुई हजारको नोट बोकेर आउन सहज हुने गरेको अवस्थामा एक सयको मात्रै नोट चल्ने भएकाले समस्या भएको छ ।’

उपचारका लागि मोटो रकम एक सय दरको नोट ल्याउँदा धेरै हुने गरेकाले सुरक्षा चुनौतीसमेत थपिएको पोद्दारले गुनासो पोखे । नेपाल सरकारले भारतीय आँखाका बिरामीको समस्या बुझ्नुपर्ने उनले माग गरे ।

विराटनगर आँखा अस्पतालमा भारतबाट दैनिक ८ सयदेखि १ एक हजारसम्म भारतीय आँखाका बिरामी आउने गरेको अस्पताल प्रबन्धक कुमार पृथुले बताए । ‘भारतको १६ राज्यबाट विराटनगर आँखा अस्पतालमा उपचारका लागि बिरामी आउने गरेको छ,’ उनले भने, ‘सन् २०१७ मा अस्पतालमा ४ लाख १३ हजार ४ सय ८५ जनाको आँखा जाँच र ६८ हजार ५ सय ९८ जनाको आँखाको शल्यक्रिया भएकोमध्ये ६० प्रतिशत भारतीय बिरामी आएको थियो ।’

भारतका ग्रामीण क्षेत्रबाट भारू नोट लिएर उपचारका लागि आउने सेवाग्राहीले समस्या भोग्नु परेको अस्पतालका कार्यक्रम संयोजक सुधिर ठाकुरले बताए । प्रतिनिधिसभा सांसद तथा विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरीले सरकारले अचानक भारतीय रूपैयाँमा लगाएको प्रतिबन्धले नेपाललाई बढी बेफाइदा हुने बताए ।

‘सरकारले बिकल्प नदिई नोट बन्द गर्दा नेपाल आउने पर्यटकहरूलाई मर्कामा पार्ने काम भएको छ,’ उनले भने, ‘नोटमा प्रतिबन्ध लगाउने हो भने सरकारले सीमा क्षेत्रमा सटही काउन्टर खोल्नुपर्छ ।’ बिकल्प नदिई प्रतिबन्ध लगाउने हो भने सार्वसाधारणले दुस्ख मात्रै पाउने उनको भनाइ थियो ।

संसदको हिउँदे अधिवेशनमा यो विषय आफूले उठाउने उनले बताए । बिहार, उत्तरप्रदेश बंगाल सहित भारतका १६ वटा प्रान्तका सर्वसाधारणको आँखा उपचारको गन्तव्य विराटनगर हो । विराटनगरमा रहेका गोल्छा, तापडीया, विराट र विराटनगर आँखा अस्पतालमा आउने अधिकांश सेवाग्राही भारतीय छन् ।

दुई सयभन्दा माथिको भारतीय रूपैयाँमा सरकारले लगाएको प्रतिबन्धले स्वास्थ्य पर्यटनका रूपमा विकास हुँदै गएको विराटनगरका अस्पतालहरूमा आउने सेवाग्राही समस्यामा छन् । नोट बन्दीले तत्काल भारतबाट आउने सेवाग्राहीको संख्यामा कमी नआए पनि दीर्घकालीन रूपमा भने गम्भीर असर गर्ने विराटनगर आँखा अस्पतालका कार्यक्रम संयोजक सुधिर ठाकुरले बताए ।

सरकारले प्रतिबन्ध लगाएको दुई सयभन्दा माथिको भारतीय रूपैयाँले सीमावर्ती भारतीय बजार जोगवनीमा भने कुनै प्रभाव पारेको छैन् । तर नेपालमा उपचार र पर्यटक भएर आउने भारतीयलाई मर्कामा पार्ने काम भएको मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले बताए ।

‘रोटीबेटीको सम्बन्ध भएकाले पनि ठूला नोटमा लागेको प्रतिबन्धले प्रभाव पारेको छ,’ उनले भने, ‘सरकारले भारतीय रूपैयाँमा प्रतिबन्धले नेपालको पर्यटन क्षेत्रमा ठूलो असर पर्छ ।’ उनले सरकारको निर्णयले दुबै देशको व्यापारलाई असर गर्ने बताए । भारतीय रूपैयाँमा प्रतिबन्धले नेपालले पर्यटन वर्ष मनाउन गरेको तयारीमा समेत असर पर्ने उनको भनाइ थियो ।

कान्तिपुरबाट

तपाईको प्रतिक्रिया