Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

जुम्ला, ८ पुस । लगातार ६ वटी छोरी जन्माएको भन्दै जुम्लाकी एक महिलालाई घरबाट निकालिएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६, लुड्कीकी झनमाया रोकाया गत कात्तिक महिनादेखि घर निकाला भएकी हुन् ।

२६ वर्षीया झनमायाले छ महिनाको गर्भवती अवस्थामा श्रीमान् गंगाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताइन् ।

झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ । अस्पतालले अन्य बाहिर जिल्ला लैजान सिफारिश गरेपछि कहाँ र कोसँग जाने भन्ने चिन्ताले सताएको झनमायाले बताइन् । सानै उमेरमा बिहे गरेकी उनले छ सन्तान जन्माएको र तीन मात्रै जीवित रहेको दुखेसो गरिन् ।

‘पटक–पटक छोरी जन्माएपछि निकै दुःख पाएँ’, झनमायाले भनिन्, ‘श्रीमान् आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन्, आफ्नो कोही भएनन् ।’ गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि वृद्ध बुबाको सहारामा अस्पताल पुगेकी उनले जन्मँदै छोरी रोगी जन्मिएपछि झन् पीडा थपिएको बताइन् ।
रासस

तपाईको प्रतिक्रिया