Online Bichar
मंगलबार, साउन ०१, २०८१ | Tuesday, July 16, 2024

दाङ, ११ असार २०८१ । रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको हो। मृतकहरू नाताले नन्द-भाउजू हुन्।

मंगलबार बिहान १ बजेतिर उनीहरूलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए।

उनका अनुसार जाइताका श्रीमान बागलुङबाट घर आउन लागेकाले घटनास्थलबाट अझै शव उठाइएको छैन।

उनी बागलुङमा मजदुरी गर्न गएको प्रहरीले बताएको छ। घरमा जाइता, गोमाला र जाइताका ६ वर्षीय छोरा थिए। छोरा सकुशल रहेको डिएसपी लामाले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया