Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

वाड सदस्य तथा स्थानीयहरु आक्रोसित

झापा, ७ पौष । झापाको गौरादह नगरपालिकाका जनप्रतिनिधिहरु नगरपालिकाको तोकिएको पारिश्रमिक भन्दा दोब्बर बढी अन्य सेवा सुविधाबाट लिन्छन् । आर्थिक बर्ष २०७५– ०७६ को चालु खर्च अन्तर्गत नगरसभाबाट आफै पास गरेर घुमाउरो बाटोबाट उनीहरुले आर्थिक लाभ लिने गरेको तथ्यले देखाएको छ ।

नगर सभाले पदाधिकारीको पारिश्रमिक तलब भनेर प्रदेश ऐन अनुसार ३७ लाख २० हजार रुपयाँ तोकेर निर्णय गरेको छ । प्रदेशले पदाधिकारीको पारिश्रमिक मनलागि तोक्न नपाउने ब्यवस्था गरेपछि उनीहरुले नगरको अनुमानित चालु खर्चको बजेट बिनियोजनमा बिभिन्न घुमाउरो बाटो अपनाएर सुविधा बढाउन बाध्य भएका हुन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
सुक्रबारको नगरपालिकाको छलफलमा सहभागिहरु

जनप्रतिनिधि
आर्थिक बर्ष ०७५–०७६को लागि नगरसभाबाट पास गरिएको अनुमानित चालु खर्चको तथ्यांक अनुसार पदाधिकारी बैठक भत्तामा ३५ लाख, पदाधिकारी अन्य सुविधा शिर्षकमा ८ लाख, इन्धन पदाधिकारी शिर्षकमा १४ लाख, जनप्रतिनिधि क्षामता अधिबृद्धी तालिम भनेर ४ लाख, पदाधिकारी अवलोकन भ्रमणमा ७ लाख त्यसैगरी अनुगमन मूल्याँकनमा १५ लाख बिनियोजन गरिएको छ । नगरपालिकाको वेबसाइटमा राखिएको अनुमानित चालु खर्चको तथ्यांक विश्लेषण गर्दा तोकिएको पारिश्रमिक भन्दा उनीहरुले दोब्बर बढी सेवा सुविधा लिनपाउने भएका हुन् ।

इन्धन
इन्धन शीर्षकमा बिनियोजन गरेको बजेट पनि अन्य नगरपालिकाको तुलनामा अत्यधिक देखिएको छ । इन्धन पदाधिकारी शीर्षकमा १४ लाख र इन्धन कार्यलय प्रयोजन भनेर १४ लाख त्यसैगरी इन्धन अन्य प्रयोजन शीर्षकमा ३ लाख गरी इन्धनमा कुल ३१ लाख बिनियोजन गरीएको छ ।

भ्रमण
त्यसैगरी भ्रमण शीर्षकमा भ्रमण खर्च ३३ लाख, विशिष्ट ब्याक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च ११ लाख र अन्य भ्रमण खर्च भनेर १ लाख गरी कुल ४५ लाख बिनियोजन गरिएको छ ।

भत्ता
भत्ता अन्तर्गतको चालु खर्चको शीर्षकमा फिल्ड भत्ता भनेर १ लाख, कर्मचारी बैठक भत्तामा २ लाख, अन्य भत्ता शीर्षकमा ५ लाख र पदाधिकारी भत्तामा ३५ लाख, कर्मचारी प्रोत्साहन भत्ता पुरस्कारमा ११ लाख गरी जम्मा भत्ता शीर्षकमा ५४ लाख बिनियोजन गरिएको छ ।

कर्मचारी
चालु खर्चको बजेट बिनियोजन गर्दा कर्मचारीले पाउने पारिश्रमिक तलब, पोषाक, कल्याँणकोष, सेवानिबृत्त औषधि उपचार लगाएतका शीर्षक बाहेक कर्मचारी बैठक भत्तामा २ लाख, कर्मचारी प्रोत्साहन भत्ता पुरस्कारमा ११ लाख, कर्मचारी तालिम खर्चमा १५ लाख, कर्मचारीको क्षामता अभिबृद्धी तालिममा ४ लाख गरी कर्मचारीको अन्य सुविधामा कुल ३२ लाख बिनियोजन गरिएको छ ।

मसलन्द तथा विविध
चालु खर्चको मसलन्द तथा कार्यलय सामाग्रि शीर्षकमा ५२ लाख, पुस्तक तथा सामाग्रि खर्चमा ४० लाख, अन्य कार्यलय संचालन खर्चमा ७ लाख, विविध खर्च शीर्षकमा ३५ लाख बजेट बिनियोजन भएको छ ।

गत आर्थिक बर्षको अनुसार कुल १ करोड १ लाख मात्र आन्तरिक अयश्रोत भएको नगरपालिकामा चालु खर्च अनुमानितमा गरिएको बजेट बिनियोजन लापरबाहिपूर्ण रहेको स्थानीयको गुनासो छ । स्थानीय माधव दहालका भन्छन् जनप्रतिनिधिहरुले यो प्रकारको बजेट बिनियोजन गरेर नगरबासीको अपमान गरेका छन् ।

यस आर्थिक बर्षको अनुमानित चालु खर्च बिनियोजनको तीनवटा नगरपालिका दमक, गौरादह र कन्काई नगरपालिकाको तुलनात्मक विश्लेषण गर्दा गौरादह नगरपालिकाले भत्ता, भ्रमण, इन्धन लगाएतका शीर्षकमा अत्यधिक बजेट बिनियोजन गरिएको तथ्यांकले देखाएको हो ।

कार्यक्रम खर्चको तलनात्मक अनुपात
गौरादह नगरपालिकाले यस आर्थिक बर्षको कुल चालु खर्च १२ करोड २६ लाख ९० हजार बाट महिला विकास, पशुसेवा, कृषि शाखा, शिक्षा शाखा आयुर्वेद शाखा, स्वस्थ्य शाखा लगाएतको शीर्षकमा २ करोड २० लाख बिनियोजन भएको छ । यसरी विश्लेषण गर्दा गौरादहमा कुल चालु खर्चको १८ प्रतिशत मात्र हुन आउछ ।

त्यसैगरी दमक नगरपालिकाले बिनियाजन गरेको चालु खर्चको ५५ करोड ६४ लाख ३६ हजार बाट शिक्षा, स्वस्थ्य, कृषि, पशु स्वस्थ्य, महिला विकास लगाएतका कार्यक्रम खर्चको शीर्षकमा ३३ करोड ४८ लाख ५२ हजार बिनियोजन गरेको छ । यसरी विश्लेषण गर्दा दमकमा ६० प्रतिशत कार्यक्रम खर्चमा बिनियोजन भएको छ ।

नगर संचालनका लागि ऐन प्रमाणिकरण गर्न र राजपत्रमा प्रकाशित गर्न तथा आवस्यक कार्यविधि लागु गर्न अल्पमतको र बहुमतको दोहोरीमा अलमलिएको गौरादह नगर कार्यपालिका आफ्नो सेवा सुविधा निर्धारण गर्न तथा बजेट बिनियोजनमा भने निर्बिबाद देखिएको छ । गत असार ३२ गतेबाट सुरु भएको नगर सभाले नगरको आर्थिक बर्ष २०७५ – ०७६ को बजेट तथा नीति कार्यक्रम सर्बसम्मत रुपमा पास गरेको थियो ।

कार्यपालिकाको बैठक उपमेयरको अध्यक्षतामा बसेको भनेर पछिल्लो समय बिबाद र चर्चामा आएको गौरादह नगरपालिकामा मेयर सहित तीन वार्डमा नेपाली कांग्रेसले जितेको छ भने उपमेयर सहित अन्य वार्डमा तत्कालिन नेकपा एमालेले जितेको हो ।

चालु खर्चको बजेट बिनियोजनको विषयमा सामाजिक संजालमा चर्चा भाइरल भएपछि आक्रोशित गौरादहका युवा तथा वार्ड सदस्यहरु सुक्रवार नगरपालिका पुगेर मेयर तथा उपमेयर संग छलफल गरेका छन् । वाड नं ७ का वार्ड सदस्य तथा नेकपाका प्रदेश कमिटि सदस्य अम्मर सिवाकोटीको नेतृत्वमा नगरसभा सदस्यहरु कोमल ढंगाना, गोपाल घिमिरे, महेश्वर सुवेदी, सुर्य नेम्वाङ, कपिलमणी काफ्ले, उत्तम बस्नेत सहित स्थानीय युवाहरुले तत्काल सार्बजनिक सुनुवाई गर्नुपर्ने, चालु खर्चको असमान वितरण संसोधन गर्नुपर्ने, नगरसभा अबिलम्ब बोलाइनु पर्ने लगाएतका विषयमा छलफल भएको सहभागि जनप्रतिनिधिहरुले बताए ।

तपाईको प्रतिक्रिया