काठमाडौँ, २१ जेठ २०८१ । बंगबन्धु कप अन्तरराष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको छ।
बंगलादेशको राजधानी ढाकामा आज भएको फाइनलमा आयोजक बंगलादेशसँग ४५–३१ ले पराजित भएपछि नेपाल उपविजेतामै सीमित बनेको हो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि नेपाली टोलीले हार टार्न सकेन।
बंगलादेशले थाइल्याण्डलाई र नेपालले केन्यालाई पराजित गर्दै फाइनल पुगेका थिए। नेपाल पहिलो पटक फाइनल पुगेको हो।
समूह चरणका ५ खेलमध्ये ४ खेल जितेको नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।
समूह चरणमा मलेशिया, पोल्याण्ड, दक्षिण कोरिया र इण्डोनेशियालाई पराजित गरेको नेपाल बंगलादेशसँग पराजित भएको थियो।
सन् २०२१ देखि शुरु भएको प्रतियोगिताको हालसम्म ४ संस्करण आयोजना हुँदा चारै संस्करणको उपाधि बंगलादेशले जितेको छ।






