Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

सप्तरी, ५ पुस । अत्याधिक चिसोका कारण सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न। ५ पातोमा एकजनाको ज्यान गएको छ । चिसोले कठ्याङ्ग्रीएर स्थानीय बालेश्वर मण्डलको ज्यान गएको हो । सुतिरहेको अवस्थामा बुधबार राति मण्डलको ज्यान गएको उनको परिवारले बताएका छन् ।

बढेको चिसो र शीतलहरका कारण सप्तरीसहित तराइको अन्य जिल्लाका अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो हावाले रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी बढेका छन् ।

सिरहा सदरमुकाममा रहेको जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

चिसोले बालबालिका र वृद्धवृद्धालाई प्रभाव पारेको छ । चिसो बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि घटेको छ । चिसोले बिरामी परेका दैनिक २० देखि २५ सम्म उपचारका लागि आउने गरेको सिरहा जिल्ला अस्पतालका चिकित्सकले बताएका छन् ।

चिसोको कारण बजार क्षेत्रका सर्वसधारण आगो तापेर बस्न थालेका छन् । यसैबीच सप्तरीका १८ वटै स्थानीय तहले चिसोबाट जोगिनका लागि ठाउँ ठाउँमा दाउरा वितरण गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकरयादव मनोजले जानकारी दिनुभयो ।

उज्यालोअनलाइनबाट

तपाईको प्रतिक्रिया