Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

युएई, ४ पूस । युएईमा रहेको नेपाली दूतावास आउँदो जनवरी १ अर्थात पुस १७ गतेदेखि नयाँ ठाउँमा सर्ने भएको छ ।

अहिले दूतावास रहेको घरसँगको पाँचवर्षे सम्झौता डिसेम्बरदेखि सकिने भएपछि नेपाल र युएईको परराष्ट्र मन्त्रालयमार्फत स्वीकृति लिएर नयाँ भवनका लागि मंगलबार सम्झौता भएको हो ।

सम्झौता अनुसार नयाँ भवनको वार्षिक ४ लाख दिर्हाम अथवा झन्डै सवा एक करोड रुपैयाँ घरभाडा बुझाउनु पर्नेछ ।

यसअघि प्रयोग गर्दे आएको भवनमा समेत यसैअनुसारको सम्झौता थियो । यो समेत गरेर दूतावासले ५ औं पटक स्थान परिवर्तन गरिसकेको छ ।

साढे तीन तल्लाको नयाँ भवनमा १८ वटा कोठा सहित झन्डै ४ सय जना एकै पटक सहभागी हुन सक्ने ठूलो कम्पाउण्ड रहेको दूतावासले जनाएको छ । भवनभित्रै महिलाका लागि सुरक्षित आवास गृह पनि रहेको छ ।

अहिलेको भन्दा पायक
दूतावासको नयाँ भवन आबुधाबीमा रहेको बसपार्कबाट ४ सय मिटर पूर्वमा पर्छ । युएईका अरु राज्यबाट नयाँ ठाउँ पुग्न मुख्य बसपार्कमा झरेर पूर्वतर्फको आकाशे पुल पार गरी तीनदेखि पाँच मिनेटसम्म हिँड्नुपर्छ ।

अहिले रहेको कार्यालय आबुधाबी बसपार्कबाट टाढा पर्छ । युएईको अरु राज्यबाट दूतावास पुग्ने नेपालीले बसपार्क ओर्लेर फेरि अर्को गाडी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

अतिरिक्त सवारी प्रयोग गर्दा न्युनतम १२ दिर्हाम अथवा ३५० रुपैयाँ एकतर्फी खर्च हुने गरेको छ । दूतावास नयाँ भवनमा सरेपछि पैसा र समयको बचत हुने भएको छ ।
उज्यालो अनलाइनबाट

तपाईको प्रतिक्रिया