Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

वीरगञ्ज, ३ पुस । पर्सामा तस्कर र स्थानीयको आक्रमणमा परी दुई प्रहरी सहायक निरीक्षकसहित ४ प्रहरी घाइते भएका छन् ।

गएराती तीन बजेको समयमा नेपाल भारत सीमानाकामा पर्ने पर्साको जगननाथपुर गाउँपालिकास्थित पाँडेपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको भन्ने सूचनाका आधारमा तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि उल्टै आक्रामण भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तस्करहरुलाई गाउँले समेतले साथ दिई प्रहरीमाथि आक्रमण भएको हो ।

तस्कर समूहसहित करीब दुई सय जनाको संख्याका स्थानीयले जगननाथपुरमा रहेको प्रहरी चौकी घेराउ गर्दै प्रहरीमाथि आक्रमणमा उत्रिएका हुन् ।

स्थानीय र तस्कर समूहको आक्रामणबाट प्रहरी सहायक निरीक्षक विष्णु देव यादव, जयकिशन महतो, प्रहरी हवल्दार प्रेम राना र जवान अर्जुन चौधरी घाइते भएका छन् ।

तीमध्ये टाउकोमा गम्भिर चोट लागेका प्रहरी जवान चौधरीको अवस्था चिन्ताजनक छ । उनको वीरगन्जको एसएल न्यूरो एण्ड जनरल अस्पतालको सघनकक्षमा उपचार भइरहेको छ । अन्य तीन जना घाइतेहरुको भने वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुईवटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने समूहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

पाँडेपुर र सीमावर्ती भारतीय गाँउका तेल तस्करहरुले प्रहरीको साथबाट थ्री नट थ्री राइफल पनि खोसेर भागेका थिए । प्रहरीबाट तस्करहरुले खासेको राइफल भने घटनास्थल नजिकैको खेतमा फेला परेको छ ।

घटनाको खबर पाए लगत्तै सदरमुकाम वीरगन्जबाट प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गएको सुरक्षाकर्मीहरुको टोलीले खोजतलास गर्दा खोसिएको हतियार फेला परेको पर्साका प्रहरी नायव उपरीक्षक मान बहादुर राइले जानकारी दिए ।

घटनामा नेपाल र भारत दुबै तर्फका अपराधी संलग्न रहेकाले उनीहरुको खोजी भइरहेको उनले बताए ।
घटनास्थलमा बिहानैदेखि प्रहरी नायव उपरीक्षक राईको नेतृत्वमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

भारतमा पेट्रोल र डिजेलको मूल्य नेपालको भन्दा महङगो रहेका कारण तस्करहरुले सीमावर्ती पर्साका गाँउमा रहेका पेट्रोल पम्पहरुबाट खरिद गरेर सीमावर्ती भारतीय गाँउका बजारमा तस्करी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया