Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

इलाम, १५ वैशाख २०८१ । उपनिर्वाचनका लागि इलाममा प्रतिनिधिसभा-२ मा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान आज बेलुका ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्। मतदानपश्चात उनीहरुले निधक्क भएर भोट हाल्न आग्रह गरेका छन्।

एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो। एमालेले सुवासको छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने खड्का पनि यस अगाडि सुवाससँगको प्रतिस्पर्धामा पराजित भएका थिए।

४२ वडा रहेको इलाम क्षेत्र नम्बर-२ मा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् । निर्वाचनका लागि ७९ मतदानस्थल तोकिएका छन्। यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ । निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ । घिमिरेका अनुसार निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया