Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ७ वैशाख २०८१ । दोस्रोपटक एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले स्तब्ध बनेको हो।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालका प्रमुख ब्याटरहरू चल्न सकेनन्। नेपालले दिएको १२० रनको सामान्य लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। युएईका लागि अलिशान सराफुले अविजित ५५ रन बनाए। त्यस्तै विष्णु सुकुमुरानले २८, साइद हैदरले १४, मोहम्मद वाशिम र आसिफ खानले समान १०/१० रन बनाए।

नेपका लागि गुल्शन झाले २ र सोमपाल काकमी र ललित राजबंशीले १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५० रन बनाए। त्यस्तै गुल्शन झाले २०, करण केसीले १७ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालका प्रमुख ब्याटरहरू नै चल्न सकेनन्। कुशल भुर्तेल शून्यमै आउट हुँदा आरिफ शेखले ८ रन, कप्तान रोहित पौडेलले ५ रन, कुशल मल्लले ३, दीपेन्द्र सिंह ऐरीले ५ रन बनाए।

नेपालले समूहचरणको खेलमा भने अपराजित रहेको थियो। नेपालले मलेसिया, कतार, हङकङ र साउदीलाई पराजित गरेको थियो।

 

तपाईको प्रतिक्रिया