Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौँ, ७ वैशाख २०८१ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबिच खेल हुँदैछ । खेल लखनउपस्थित अटल बिहारी बाजपेई क्रिकेट स्टेडियम (ईकाना) मा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा खेल्न लागिएको यो ३४औँ खेल हो । आईपीएलको १७औँ संस्करणमा लखनउ र चेन्नई दुबैले आफ्नो सातौँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।

चेन्नई आठ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । चेन्नईले जारी आईपीएलमा जितसँगै आफ्नो यात्रा प्रारम्भ गरेको थियो । आफ्नो पहिलो खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो । त्यो जारी आईपीएलको उद्घाटन खेल पनि थियो ।

चेन्नईले आफ्नो दोस्रो खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हराएको थियो । तेस्रो खेलमा भने चेन्न्ईको टोली दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको थियो । चौथो खेलमा पनि चेन्नईको टोली सनराइजर्स हैदराबादसँग ६ विकेटले हारेको थियो ।

त्यसपछिको दुई खेलमा भने चेन्नईले लगातार जित हात पारेको छ । चेन्नईले आफ्नो पाँचौँ खेलमा कोलकाता नाइट राइडर्सलाई सात विकेटले पराजित गरेको थियो । यसअघि खेलिएको छैटौँ खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको थियो ।

यसैगरी लखनउले यसअघि खेलिएको ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । लखनउ ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । लखनउले सिजनको सुरुआत हारबाट गरेको थियो ।

लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । लखनउले दोस्रो खेलमा पञ्जाब किङ्सलाई २१ रनले र तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई २८ रनले पराजित गरेको थियो ।

चौथो खेलमा लखनउले गुजरात टाइटन्समाथि ३३ रनको जित हासिल गरेको थियो । त्यसपछिका दुई खेलमा भने लखनउको टोली लगातार पराजित भएको थियो । लखनउ आफ्नो पाँचौँ खेलमा दिल्ली क्यापिटल्ससँग ६ विकेटले र छैटौँ खेलमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले हारेको थियो ।

तपाईको प्रतिक्रिया