Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

झापा, ७ वैशाख २०८१ । अहिले गाउँ होस् या सहर, सडक होस् वा घर, होटल वा रिसोर्ट जताततै बत्ती राखेर झिलिमिली पार्ने होड नै चलेको छ । व्यापार वृद्धिका लागि उज्यालो र झिलिमिली बनाउने आमप्रचलन छ । यसले मानिसलाई सजिलो बनाए पनि चरा र जीवजन्तुलाई भने बाँच्नै मुस्किल बनाएको छ ।

अझ शान्त ठाउँ भन्दै जङ्गल र नदी किनारामा रिसोर्ट बनाउने र आसपासका रुखलाई आकर्षक बनाउन कृत्रिम बत्ती बाल्दा आकर्षण देखिए पनि चराका लागि ती पासो जस्तै बनेका छन् । राजमार्गका छेउमा राखिएका सडकबत्तीसँगै रुखमा अनावश्यक रूपमा राखिएका झिलिमिलीले सानादेखि ठुला प्रजातिका चरालाई असर पारेको छ । त्यसतर्फ राज्यबाट चासो हुन नसकेको यस क्षेत्रमा आबद्ध खोजकर्ताले बताएका छन् ।

नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठले रातमा हुने प्रकाश प्रदूषणले चरामा वंशाणुगत गुणमा नै असर पारिरहेको विचार व्यक्त गरे । मानिससँग नजिक भएर घरका प्वाल, टुँडाल र गोठमा बस्ने भँगेरा र लाटोकोसेरोको सङ्ख्यामा कमी आउनुका पछाडि प्रकाश प्रदूषणले मुख्य भूमिका खेलेको श्रेष्ठको दाबी छ ।

रातको समयमा कृत्रिम उज्यालोकै कारण चराले दिन र रात छुट्याउन नसक्ने भएकाले तिनीहरूको बसाइमा समस्या हुने गरेको हो । कृत्रिम प्रकाशले चराको उठ्ने, खाना खोज्ने र आराम गर्ने समयमा परिर्वतन गराउन थालेको छ । जसका कारण समय नहुँदै चरा सक्रिय बन्न थालेको उनले बताए। कृत्रिम प्रकाशका कारणले चराको प्रजनन दरलाई बिथोलेको छ ।

उनका अनुसार घाम झुल्किनुअघि उठ्ने र अस्ताएपछि आराम गर्ने चराको वंशाणुगत गुणलाई कृत्रिम प्रकाशले नराम्रोसँग असर पारेको छ । विश्वमा ११ हजार प्रजातिका चरा छन् । नेपालमा मात्रै ८९४ प्रजातिका चरा पाइन्छ । चराको कुल प्रजातिमध्ये ४० प्रतिशत नियमित रूपमा ऋतु अनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ सर्ने गुण बोकेकाले बसाइँ सर्ने गर्छन् । धेरै चराले नेपाललाई ट्रान्जिट बनाएर बसाइँ सर्ने गरेका छन् । नेपालको उडानमार्ग (सेन्टर एसियन फ्लाई वे र इस्ट अस्टे«लियन फ्लाइ वे) मा पर्ने उनले जानकारी दिए।

कृत्रिम उज्यालोका कारण बसाइँसराइ गर्ने चरा सङ्कटमा पर्दै गएको श्रेष्ठले दाबी गरे । चराको प्रजनन आहारको सहज उपलब्धता हुने समयमा हुने गर्छ । चराले दिन र रात छुट्याउन नसक्दा कतिपय चराको प्रजनन समय अघि सर्न थालेको उनले बताए ।

प्रशस्त आहार पाउन नसकी चराको प्रजनन र बच्चा हुर्काउने सफलता दर कम हुँदै गएकाले त्यसतर्फ ध्यान पुर्‍याउन आवश्यक रहेको उनले बताए। चरा अनुसन्धानकर्ता नकुल भुसालले ७० प्रतिशत स्तनधारी जनावर रातमा आहारविहार, हिँडडुल र प्रजननका लागि सक्रिय हुन्छन् भने दिनमा लुकेर बस्ने गरेको बताए । दिनभर आहारको खोजी र शक्ति सञ्चयमा बिताउने चरा रातमा उड्दा शत्रुको जोखिम कम हुनुका साथै जुन र ताराले उडानमार्ग पहिल्याउन सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया