Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

सुरेश बिडारी

वीरगञ्ज, १ पुुुस । घटना १ स् असोज ८ गते बिहान वीरगञ्ज हुँदै भारत जान लागेका दुई किशोरी माइती नेपाल र प्रहरीको निगरानीमा परे । घर कहाँ भनेर सोध्दा वीरगञ्ज भने तर, ठाउँ बताउन सकेनन् । बेचिन लागेको आशंकामा इनर्वा प्रहरी चौकीमा लगेर थप सोधपुछ गर्दा दुईमध्ये एक जना काठमाडौं, कमलपोखरीस्थित मन्जिल डान्सबार काम गरेको थाहा भयो ।

सूर्य तामाङ सञ्चालक रहेका मन्जिल डान्सबारमा मासिक १२ हजार रुपैयाँमा काम गर्दा पेट दुख्न थालेपछि उनलाई अस्पताल लगेर जचाइएछ । तर, पनि पेट दुःखी रहन्थ्यो । त्यसपछि सूर्य तामाङले ‘भारतको राम्रो अस्पतालमा जँचाइदिन्छु हिँड’ भने । उनले साथमा अर्को एकजना केटी चाहिन्छ पनि भने । अनि उनी दुई महिनादेखि सँगै बस्दै आएकी किशोरीलाई लिएर सुटुक्क काठमाडौंबाट वीरगञ्ज हिडिन् ।

२५–२६ बर्षको युवक साथमा हिँडेका सूर्य पनि त्यही वेलुका वीरगञ्ज आएर होटलमा बसेका थिए । अर्को दिन केटीहरुलाई रिक्सा चढाएर रक्सौलको पुलमा पर्खन्छौं भन्दै अघि लागे । तर, माइती नेपालबाट निगरानीमा खटिएको टोलीले बाटैमा रोकेपछि उनीहरु बेचिनबाट जोगिए ।

घटना २  मानव बेचविखनविरुद्ध काम गर्दै आएको ‘साना हातहरु’ नामक संस्थाले केहि दिन अघि भारतबाट भागेर आएकी १५ बर्षीया किशोरीलाई संरक्षणमा लियो ।

अर्घाखाँचीकी किशोरीलाई पर्साको विन्दवासिनी गाउँपालिका–२ का दिनदयाल पण्डितले विवाहको प्रलोभनमा पारेर भारतको आदापुर पुर्‍याएर बेचेका थिए । पीडित किशोरीले दिएका जानकारी अनुसार दिनदयाल उनलाई लिन बुटवल पुगेका थिए । बुटवलबाट वीरगञ्ज ल्याएर होटल भिस्वा पछाडिको वस्तीको एक घरमा दुई हप्ता श्रीमती जस्तै गरी राखे । त्यसपछि भारत गएर काम गर्नुपर्छ भन्दै सीमा कटाए । आदापुरमा दुई दिन बसेपछि दिनदयाल उनलाई छोडेर कुलेलाम ठोके ।

दिनदयालले आफूलाई ४० हजार भारुमा बेचेको थाह पाएपछि किशोरी भाग्ने सुरमा लागिन् । एक हप्तासम्म यौन हिंसामा परेपछि बिहान ५ बजे एक नेपाली किशोरीको सहयोगमा भागेर नेपाल आइन् । वीरगञ्ज आएपछि उनलाई ‘साना हातहरु’ले संरक्षण दिएको छ भने प्रहरीले दिनदयाललाई पक्राउ गर्‍यो । उनीविरुद्ध मानव बेचबिखनको मुद्दा चलाएको छ । उनले फेसबुकको माध्यमबाट किशोरीलाई जालमा पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना ३ स् २०७४ माघ १९ गते भारत जानलागेका १६ र १३ बर्षका दुई किशोरी र एक युवक माईती नेपालको निगरानीमा परे । कलिला बालिकाहरुको साथमा रहेको युवक ३० कटेका देखिन्थे । उनीहरुको कुरा शंकास्पद भएपछि माइती नेपालले थप अनुसन्धानका लागि तिनैजनालाई पर्सा प्रहरीमा बुझायो ।

उनीहरु तिनैजना सर्लाही, हरिवनका छिमेकी रहेछन् । नारायण सहनी नामका युवकले मुस्लिम किशोरीहरुलाई दिदीको घर लगिदिन्छु, घुमाइदिन्छु भनेर फकाएका रहेछन् । किशोरीहरुलाई फकाएर भारत लैजानुको उद्देश्य बेचबिखन रहेको खुलेपछि नारायण सहनी अहिले पूर्पक्षका लागि कारागारमा रहेको माईती नेपाल वीरगञ्जको कार्यालय सहायक एलिशा श्रेष्ठले जानकारी दिईन् ।

रोकिएन चेलीबेटी बेचविखन

मानव बेचबिखनका घटना न्यून हुँदै गएपनि रोकिएको छैन । मानव तस्करहरुले गरिबी र बेरोजगारीको चपेटामा पिल्सिएका महिलो र किशोरीहरुलाई विभिन्न प्रलोभनमा पारेर भारतमा बेच्ने गरेका छन् । कोही रोजगारीको लागि खाडी मुलुक जाने हुँदा भारतमा बेचिएका छन् ।

पर्सा जिल्लाको १०७ किलोमिटर भाग भारतसँग जोडिएको छ । त्यसमाथि सिमाना खुला छ । सिमा नाकामा अवैध गतिविधि रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालित छ । वीरगन्जदेखि रक्सौल जाँदा आधा दर्जन ठाउँमा चेकजाँच हुने गरेको छ । वीरगञ्जमा तीनवटा गैरसरकारी संस्थाले निगरानी र सोधपुछ गर्छन् ।

वीरगञ्जमा माइती नेपाल, केआई नेपाल र साना हातहरुले क्रमशः शंकराचार्य गेट, भन्सार गेट र बसपार्कमा निगरानी तथा परामर्श केन्द्र राखेका छन् ।

र पनि दलालहरुले झुक्याइहाल्छन् । चालु आर्थिक वर्ष २०७५र०७६ को अघिल्लो ५ महिनामा मात्र ५७ जना महिला तथा बालबालिकाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङकले देखाउँछ । लुकी छिपी कति जनालाई दलालहरुले भारतीय सहर पुर्‍यायो, कसैलाई थाहा छैन । कोही भागेर फर्कन सफल भयो भने मात्र तथ्यांकमा समेटिन्छन् ।

माइती नेपालले यो वर्ष सीमा क्षेत्रबाट १९३ जनाको उद्धार गरेको छ । उनीहरुमध्ये १८३ जना अभिभावकको जिम्मा लगाइएको छ भने ६ जनालाई माइती नेपालले नै संरक्षण दिएको संस्थाकी संगीता पुरीले बताइन् ।

नालाइनखबरबाट

तपाईको प्रतिक्रिया