Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

विराटनगर, ६ वैशाख २०८१ । विराटनगरमा आयोजना हुने चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा ८ वटा टिम सहभागी हुने भएका छन् । मिल्ड गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिल्सको मैदानमा शुक्रबारदेखि प्रतियोगिता सञ्चालन हुँदैछ ।

आयोजकले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । गोल्डकपका संयोजक मनोज खड्काले प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने जानकारी दिए । उनका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर,टीडब्लु वाईसी विराटनगर, सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल एपीएफ,सिरहाको गोलबजारस्थित प्रतिभा स्पोर्टिङ क्लब, विराटनगरको पेमा युवा क्लब, धरानको फेयर फुटबल क्लब,झापाको कन्काई स्पोर्टिङ क्लब र महोत्तरीको बर्दीबास नगर खेलकुद विकास समिति गोल्डकपमा सहभागी हुने छन् ।

उद्घाटन खेलमा बर्दीबास नगर खेलकुद विकास समितिले विभागीय टोली एपीएफको सामना गर्नेछ । संयोजक खड्काका अनुसार गोल्डकपको विजेता टोलीलाई २ लाख ११ हजार तथा उपविजेतालाई १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

उत्कृष्ट ७ विधाका खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । गोल्डकपमा सहभागी टोलीलाई यातायात खर्चवापत ५० हजार रुपैयाँ उपलब्ध गराइने जानकारी खड्काले दिए । उनका अनुसार गोल्डकप सम्पन्न गर्न १२ लाख ६८ हजार रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

गोल्डकपको फाइनल स्पर्धा वैशाख १५ गते हुने छ । साविक विजेता झापाको ध्रुवतारा फुटबल क्लब यसपटक गोल्डकपमा सहभागी नहुने भएको छ । तेस्रो संस्करणको उपाधि भिडन्तमा धु्रवताराले सिरहाको गोलबजारस्थित प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले पराजित गरेको थियो ।

प्रतिभा फुटबल क्लबले विराटनगरको साइनो स्पोर्टिङ क्लबलाई २–१ गोलले स्तब्ध बनाउँदै दोस्रो संस्करणको उपाधि जितेको थियो । साइनो स्पोर्टिङ क्लब पहिलो संस्करणको उपाधि भिडन्तमा पनि एपीएफसँग ४–३ गोल अन्तरले पराजित भएको टिम हो ।

२०७७ सालमा सम्पन्न पहिलो संस्करणमा साइनोलाई टाइब्रेकरमा पराजित गरेर विभागीय टोली एपीएफले उपाधि चुमेको थियो । पहिलो संस्करणमा विजेता बनेको एपीएफले ट्राफीसहित १ लाख ५० हजार रुपैयाँ पाएको थियो ।

 

तपाईको प्रतिक्रिया