Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

जेबि खड्का
गौरादह, ४ वैशाख २०८१ । सिरुवा पर्वका अवसरमा गौरादह नगरपालिका वडा नं.७ को ग्वालडुब्बामा मेला लगाइनुका साथै सिरुवा बिशेष सांस्कृतिक कार्यक्रम गरिएको छ।ग्वालडुब्बामा रहेका बैराती महाराज थानमा पूजाअर्चना गरि महाराजलाई खुसी बनाउन मेला लगाउने गरिएको छ।

सिरुवा बिशेष सांस्कृतिक कार्यक्रममा नृत्य प्रदर्शन गरिएको थियो। स्थानीय स्तरमा रहेका कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए।आदिवासी समुदायहरुले बिशेष गरि तीन दिन मनाउने सिरुवा पर्बका अवसरमा महाराज थानमा मेला लगाउने गरेका छन।नयाँ बर्षको सुरुवात सँगै आदिवासी समुदायले मनाउदै आएको सिरुवा पर्वमा प्रत्येक बर्ष दक्षिणी क्षेत्रमा रहेका महाराज थानमा मेला लगाउने गरेका छन ।

सिरुवा पर्वमा आदिवासी समुदायले आफ्ना कुल देवतालाई सम्झेर घरमा पूजाअर्चना गरेपनि मेलामा भक्तजनहरुले महाराजलाई भाकल अनुसारको सामग्री चढाउने गरेका छन। भक्तजनहरुले मनोकांक्षा पूरा गर्न गरिएको भाकल अनुसारको सामग्री सिरुवा पर्वमा लगाइने मेलामा महाराज थानमा चढाउने गरेका छन। दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाहरुका साथै मोरङ तथा भारतको बिहारबाट समेत मेला हेर्न आउने गरेका छन। नेपाल आदिवासी जनजाति कार्यक्रम परिषद अध्यक्ष भुपाल सिंह ताजपुरियाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी प्रमुख अतिथि रहेका थिए। समाजसेवी सम्पत लाल राजवंशीले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रमको संचालन नेपाल आदिवासी जनजाति वडा समन्वय परिषद सचिब राजेश राई र मेला आयोजक समिति सदस्य गंगा राजवंशीले गरेका थिए।

 

तपाईको प्रतिक्रिया