Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा, ३ वैशाख २०८१ । पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सात लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

त्यसो त अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो । जुन सङ्ख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ८१९ जनाले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए ।
यो तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि बिदेसिनेको सङ्ख्या बढेको पुष्टि हुन्छ ।

विभागका अनुसार यो वर्षको सो अवधिमा सबैभन्दा धेरै चैत महिनामा ७० हजार ९३३ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन् । यस्तै जेठ महिनामा ५९ हजार ४२२ जनाले श्रम स्वीकृति लिएका छन् भने असारमा ५५ हजार २९९ जना, साउनमा ५५ हजार ५७५ जना गएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

विभागका अनुसार भदौमा ५० हजार ८८४ जनाले विदेश जान श्रम स्वीकृति लिएकोमा असोज महिनामा ५६ हजार २३५ श्रम स्वीकृति लिएर विदेशिएका छन् । यसरी नै मङ्सिरमा ६८ हजार २०१ जना, पुस महिनामा ६५ हजार ८१३ जना, माघ महिनामा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया