Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौं, २८ चैत २०८० । राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ र विपक्षमा १६ मत आएको हो।

घिमिरेको पक्षमा बहुमत आएपछि अध्यक्ष नारायण दाहालले उनलाई राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेका हुन्। बैठकमा ५५ जना सांसद उपस्थित थिए।

यसअघि नेपाली कांग्रेसकी विष्णु देवी पुडासैनीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। उनको पक्षमा १६ मत र विपक्षमा ३९ मत खसेको थियो।

पुडासैनीको प्रस्तावकमा कांग्रेसका दुर्गा गुरुङ थिइन्। घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने थिइन्। निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि पद रिक्त थियो।

एमाले नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल,रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्षमा एमालेलाई दिने सहमति भएको थियो। सहमति अनुसार नै गत फागुन २९ भएको निर्वाचनमा माओवादी केन्द्रका नारायण दाहाल अध्यक्षमा निर्वाचित भएका थिए।

५९ सदस्यीय रहेको राष्ट्रिय सभामा हाल माओवादी १८,कांग्रेस १६,एमाले १०,एकीकृत समाजवादी ८,जसपा ३,लोसपा १,राष्ट्रिय जनमोर्चा १ सदस्य छन्। यसैगरी राष्ट्रपतिबाट नारायणप्रसाद दाहाल र वामदेव गौतम मनोनित सदस्य हुन्। विमला राईको कार्यकाल सकिएपछि एकजना मनोनित हुन बाँकी छ।

 

तपाईको प्रतिक्रिया