Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १५ चैत २०८० । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती गरिएको छ । किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार वटा पालिकामा नमुना खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।

गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बीउ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमुना खेती गरिएको हो । २५ जना किसानको ७० बिघा जमिनमा ‘चैते धान–५’ जातको चैते धानको नमुना खेती गरिएको उनले बताए ।

‘किसानलाई प्रविधि चिनाउँदै प्रविधियुक्त खेतीमा प्रोत्साहित गराउने उद्देश्य हो’, उनले भने, ‘बीउ राख्न ट्रे र धान रोप्ने मेसिन निःशुल्क उपलब्ध गराइएको छ ।’ सहकारीको मेसिन भाडामा लिएर रोपाइँ गरिएको उनको भनाइ छ ।

मेसिनले चार हजार पाँच सयमा एक बिघा धान रोपाइँ गर्ने तर खेताला लगाएर रोपाइँ गर्दा नौ हजारभन्दा बढी खर्च हुने निमित्त प्रमुख विष्टले जानकारी दिए । बीउ उखेल्ने र रोपाइँ गरेर करिब १५ हजारदेखि २० हजार बचत हुने उनले बताए । मेसिनले रोप्दा पाँचदेखि १० प्रतिशत उत्पादन वृद्धि हुने उनको दाबी छ ।

उत्पादन भएको चैते धान न्यूनतम नौ सय प्रतिमन ९४० केजी० का दरले खरिद गर्ने निश्चित भएको निमित्त प्रमुख सागर विष्टले जानकारी दिए । नमुना खेतीका लागि ज्ञान केन्द्रको १० लाख खर्च भएको छ । झापामा किसानले ड्रम सिडर मेसिन’ प्रयोग गरेर छरुवा प्रविधिबाट चैते धान लगाएका छन् ।रासस

 

तपाईको प्रतिक्रिया