Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

विराटनगर, २६ मंसिर । उपचारको क्रममा मृत्यु भएका बिरामीका आफन्तले उपचार खर्च तिर्न नसक्दा विराटनगरस्थित नोबेल मेडिकल कलेजले शव आफ्नै नियन्त्रणमा राखेको छ। मोरङको कटहरी गाउँपालिका ३ निवासी ३२ वर्षीय दिपक मिश्रको शव विराटनगरस्थित नोबेल मेडिकल कलेजले नियन्त्रणमा राखेको हो।

साउन २ गते विराटनगर महानगरनगरपालिका ४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको नोबेल अस्पतालमा उपचारको क्रममा मंगलबार ११ बजे मृत्यु भएको हो। तर अस्पतालले दुई दिन बितिसक्दा समेत शव नदिएको मिश्रकी श्रीमती अनिता मिश्रले जानकारी दिए।

नोबेलमा साउन २ गतेदेखि नै उपचार गराइरहेका मिश्र परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार वापत बाँकी रहेको रकम तिर्न नसक्दा अस्पतालले शव दिन नमानेको श्रीमती अनिताले बताइन्।

उनको टाउकोमा लागेको चोटले गर्दा तीन वटा नसामा असर पु¥याएको थियो। मंगलबार ११ बजे मृत्यु भए पनी आफन्तलाई अस्पताल प्रशासनले अहिलेसम्म शव दिएको छैन।

उपचार गरे बापत नोबेललाई ३ लाख ५ हजार ७० रुपैयाँ तिर्न बाँकी रहेको श्रीमती अनिताले बताइन्। उनले भनिन्, ‘यस अघि करिब १४ लाख उपचार अस्पतालमा बुझाइसकेकी छु।’ औषधिको रकम छुट्टै तिर्नु पर्ने अस्पतालले भनिरहेको उनले बताइन्।

अस्पतालले पैसा नदिएसम्म शव दिन नसकिने भन्दै आफन्तलाई फर्काइदिएको छ। दुर्घटना गराउने मोटरसाइकल चालक विराटनगर ४ का हरी दाहालसँग भदौ १६ गते नै उपचार गरिदिने सहमति भएको थियो।

सहमती अनुसार दहालले उपचारमा सहयोग गरे पनि उपचार कै क्रममा मृत्यु भएको छ। मृत्यु भएपछि पुन मोरङ प्रहरीमा आफन्तले उजुरी दिए पनि अस्पतालले बाँकी रकम नदिएसम्म शव नदिने बताइरहेको आफन्तले बताएका छन्।

उनले विराटनर १० स्थित भाडा लिएर बस्दै आएको मिश्र परिवारलाई घर धनीलेसमेत घर खाली गर्न भनेको छिमेकी शुभम पण्डिलले बताए।

उनले रकमको अभावमा मिश्रको दुई छोरा पढ्ने स्कुलबाट समेत निकालिएको जानकारी दिए। स्कुलको शुल्क तिर्न नसक्दा दुवै छोरा स्कुल जानबाट बञ्चित भएको उनले सुनाए।

नोबेल मेडिकल कलेजमा म्यानेजर नारायण दाहालले आफन्तलाई उपचार बापतको खर्च तिरेर लैजाने भनेको जानकारी दिए। उनले ठूलो रकम भएकाले अस्पतालले छोड्न नसक्ने बताए। यद्यपी अस्पतालले मिल्नेसम्म रकम छुट गर्ने तयारी गरेको उनको भनाइ छ।

अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया