Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

काठमाडौँ, २० फागुन २०८० । साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो ।

साउदीको जेद्धामा रहेको साउदी एम्कोर कम्पनीमा पाँच महिनादेखि कार्यरत रहेका उनी बिरामी परेको र कम्पनीसँग उपचार गर्न आग्रह गर्दा अस्पताल जानु भनेको र अस्पताल जाँदा खाली प्यानाडोल र प्यारा सिटामोल मात्र दिने गरेको कारण उनको मृत्यु भएको सोही कम्पनीमा कार्यरत गोविन्द घिमिरेले बताए ।

‘ऊ एक महिनादेखि बिरामी परेको थियो, क्याम्पको बोसलाई भन्दा अस्पताल जानु भन्छ, अस्पताल जाँदा सिटामोल मात्र दिने गरेको थियो,’ घमिरेले राजधानीसँग भने, ‘त्यो भाइ बिरामी परेर दुब्लाउँदै गयो । हामीले पनि उसलाई नेपाल पठाउन आग्रह ग¥यौं । तर, कम्पनीले सुनेन, एचआरसँग हारगुहार गर्दा पनि ५ हजार साउदी रियाल फाइन दिए मात्र घर पठाउने भन्यो ।’

त्यसपछि उनको रोग पनि बढ्दै गयो र कम्पनीको चरम लापर्बाहीले गर्दा उनले संसार छाडे । कम्पनीको लापर्बाहीले उनको मृत्यु भएपछि त्यस कम्पनीमा कार्यरत ६ सयभन्दा बढी नेपालीले कम्पनीविरुद्ध आन्दोलन गरेर काम ठप्प परेका छन् ।

बिरामी हुँदा पनि कम्पनीले उपचार गर्न आनाकानी गरेको, कम्पनीको बासस्थान पनि राम्रो नभएको र पिउने पानी पनि पिउनयोग्य नरहेको कारण धेरै नेपाली कामदार बिरामी परेको भन्दै आन्दोलित भएका हुन् ।

‘अब हामीले यो कम्पनीमा काम गर्न सक्दैनौं किन कि यो कम्पनीले बिरामी पर्दा उपचार नै गर्दैन, अहिले घर फर्कने नेपालीको नामावली संकलन गरेर कम्पनी प्रशासनलाई बुझाउने तयारीमा छौं,’ उनले थपे ।

नेपालबाट आउँदा ८ घण्टा २६ दिनको काम गर्नुपर्ने भनेर सम्झौता गरिएको भए पनि यहाँ १२ घण्टासम्म काम लगाउने र यस कम्पनीमा कार्यरत प्रायः सबै नेपाली बिरामी परेको उनले बताए । अहिले उनीहरूले कम्पनीको एचआरसँग पनि कुराकानी गरिरहेको र एचआरले पनि केही समय पर्ख घर जानेजतिलाई पठाउने भनेको उनले बताए ।

नेपाली कामदारको मृत्यु भएपछि जेद्धामा रहेको नेपाली महावाणिज्य दूतावासले पानी कम्पनीको भिजिट गरेको छ । त्यस कम्पनीमा कार्यरत रहेका नेपालीहरूलाई जबसम्म यो ठाउँबाट बासस्थान सर्दैन तबसम्म काम नगर्नू भनेको उनीहरूले बताए ।

दूतावासले अहिले आन्दोलन नगर्नु भनेर कम्पनीसँग एउटा सम्झौता गरेर गएको र दुई हप्तासम्म पर्खिनु भनेको उनीहरूले बताए । त्यसपछि पनि आफूहरूको समस्या समाधान नभए आन्दोलन गर्न दूतावाससमक्ष भनेको उनीहरूले बताएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया